धरान/ गायक तथा सङ्गीतकार उमेश रेग्मी पछिल्लो समय साङ्गीतिक क्षेत्रमा सक्रिय छन् । उनका नयाँ गीतका भिडियोहरू धमाधम सार्वजनिक भइरहेका छन् ।

उनको नयाँ गीत ‘एक्का बास्सा मिस्सी’को भिडियो हालै सार्वजनिक भएको छ । उमेशको सङ्गीतमा विश्व नेपाली र अञ्जु पन्तको स्वर रहेको गीतको शब्द मिलन रेग्मीले लेखेका हुन् । गीतको भिडियोमा निराजन प्रधान, अलिसा शर्मा, सुनिल क्षेत्री, कविता नेपाली लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसअघिपनि ‘वैशाख नि बित्यो’ बोलको अर्को भिडियो सार्वजनिक भएको थियो । जसमा विश्व नेपाली र मेलिना राईको स्वर रहेको थियो । यो गीतको भिडियोमा दीलिप रायमाझीले पनि अभिनय गरेका थिए । त्यसैगरी उमेशकै सङ्गीत र टीका प्रसाईंको स्वरमा रहेको गीत ‘मेरो याद’को भिडियो पनि सार्वजनिक भएको थियो. ।

यो गीतमा उमेशले पनि टीकालाई स्वरमा साथ दिएका थिए । यो गीतको भिडियोमा पनि निराजन प्रधान, अलिशा र सुनिल क्षेत्रीले अभिनय गरेका छन् । एकपछि अर्को गीत सार्वजनिक गरिरहेका उमेश हाल अमेरिकामा छन् । उनी भन्छन्, ‘यहाँ आएपछि फुर्सदको समयमा सङ्गीतकै अभ्यास गर्छु, नयाँ गीतहरूमा सङ्गीत भर्छु ।’

२०६५ सालमै गीत रेकर्ड गराएर सङ्गीत यात्रा सुरु गरेका उमेशले धरानलाई कर्मथलो बनाएर केही वर्ष सङ्गीत कर्म गरे । उनले शुरुमा ‘सुनसरी इनरुवा’ एल्बम निकालेका थिए । त्यो एलबममा २ वटा गीत समावेश थिए । त्यसपछि उनले धरानमै ६ वटा गीतको एल्बम ‘युमेश’ बजारमा ल्याए । विभिन्न साङ्गीत कार्यक्रममा समेत गाउने उनी हाल अमेरिकामा छन् । त्यहाँ पनि उनले सङ्गीत कर्मलाई निरन्तरता दिइरहेका छन् । अमेरिकाबाटै उनले ५ गीत समेटेर ‘मेरो याद’ एल्बम ल्याएका छन् ।

उमेशले हालसम्म आफ्नै शब्द, सङ्गीत र स्वरमा १४ वटा गीत सार्वजनिक गरिसकेका छन् भने ९ वटा गीतमा शब्द र सङ्गीत अनि ९ वटामा सङ्गीत मात्र गरेका छन् । उमेशको एकल सङ्गीतमा गीतकार मिलन रेग्मीको एल्बम ‘छोरी’ पनि सार्वजनिक भएको छ, जसमा उमेशको सङ्गीतमा वरिष्ठ गायक दीप श्रेष्ठदेखि अञ्जु पन्त, विश्व नेपाली, मेलिना राई, बानिका प्रधान, नविन रनपालले स्वर दिएका छन् ।

त्यसबाहेक उमेशको सङ्गीतमा नविन के भट्टराई, रामकृष्ण ढकाल लगायतका धेरै गायक गायिकाले स्वर भरिसकेका छन् । उमेश भन्छन्, ‘नेपालमा रहे पनि अमेरिकामा रहे पनि सानैदेखिको आफ्नो रुचिलाई छाड्न नसकिने रहेछ । त्यही रुचिले मलाई सक्रिय बनाइरहेको छ ।’