अहिले एसईईमा प्रायः विषयहरू सबै साधारण विषय भए पनि कक्षा ११ मा ५ वटा विषय क्षेत्रमध्ये एउटा रोज्नुपर्ने हुन्छ । ती ५ विषय क्षेत्र हुन् मानविकी, शिक्षा, वाणिज्य, विज्ञान र प्राविधिक । अङ्ग्रेजी र नेपालीबाहेक अरू सबै विषय त्यही विषय क्षेत्रसँग सम्बन्धित हुन्छन् । आ–आफ्नो क्षमता पहिचान गर्न सके विद्यार्थीको पढाइ भविष्यको मार्गचित्र कोर्न सफल हुनेछ ।

अबदेखि कक्षा ११ र १२ पनि विद्यालय शिक्षाका रूपमा नै लिइने भएकाले पहिले एसएलसीको जस्तो ह्याङ हुन पनि छाडेको छ । उच्च शिक्षा प्लस टु पछिलाई मात्र मान्न थालिएको छ । विद्यालयको जग बलियो नभए उच्च शिक्षामा राम्रो गर्न सकिन्न ।

ती पाँचवटा विषयमध्येको एउटा हो प्राविधिक शिक्षा । यही प्राविधिक शिक्षामा राखिएको छ कृषि शिक्षालाई । हुन त अहिले कृषि शिक्षालाई कक्षा ९ देखि नै राखिएको छ । यो कोर्सको आकर्षण हुँदाहँुदै पनि ग्रामीण भेगसम्म यसको महŒव पु¥याउन सकिएको पाइदैन ।

प्राविधिक विषय पढिसकेपछि तुरुन्तै बजारमा काम पनि पाइन सक्छ । प्रशासनिकभन्दा प्राविधिक काम गर्न रुचाउनेका लागि यो अवसर पनि हो । गणित, अङ्ग्रेजी र विज्ञानमा सी वा त्यसभन्दा बढी ग्रेड छ भने पहिला जुनियर प्राविधिक तहको अनुभव बटुल्दै आफ्नो पढाइलाई निरन्तरता दिँदै पछि उच्च शिक्षामा उत्कृष्टता हासिल गरेर विज्ञ प्राविधिक बन्न सकिनेछ ।

यदि यस्तो हो भने, कक्षा ११ र १२ मा पढाइ हुने प्राविधिक विषय उपयुक्त हुन सक्छ । यो विषय लिएर पढ्दा ४ वटामध्ये एउटा छनोटको अवसर मिल्छ । ती हुन् पशु विज्ञान र बाली विज्ञान, इलेक्ट्रिकल इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ र कम्प्युटर इञ्जिनियरिङ ।

यीमध्ये विद्यार्थीको रुचि र प्राप्त जीपीए निर्णायक हुन सक्छन् । यस्ता प्राविधिक विषय पढ्नेलाई कृषि, पशु सेवा, निर्माणसम्बन्धी परामर्श, कम्प्युटर प्रोग्रामिङ, वेव डिजाइन, सफ्टवेयर निर्माणजस्ता क्षेत्रमा रोजगारी पाउन सजिलो हुन्छ । यसको बजार ठूलो छ र तुरुन्तै बजारप्रवेश गर्न सकिन्छ ।

कृषि विषयमा आकर्षण
कृषि शिक्षामा विद्यार्थीको आकर्षण बढ्दो छ । त्यसैले सम्बन्धन माग्ने निजी क्याम्पसहरूको दबाव विश्वविद्यालयमाथि बढेको छ । हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा यो कार्यक्रम सञ्चालनमा छ । मध्यपश्चिम विश्वविद्यालय र संस्कृत विश्वविद्यालयले समेत यो शैक्षिक कार्यक्रम चलाउन खोजिरहेका छन् ।

नेपालका तीन विश्वविद्यालयले वर्षमा एक हजारभन्दा बढी विद्यार्थीलाई कृषि विषयमा स्नातक तहसम्म पढाउने गरेका छन् । प्लस टुको तथ्याङ्क भने सवै एक ठाउँमा उपलब्ध भएको पाइदैन । ती विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा कृषिसँग सम्बन्धित विषय पढ्नका लागि आवेदन दिनेहरूको सङ्ख्या ११ हजारभन्दा बढी हुने गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले ४००, कृषि तथा वन विज्ञान विश्वविद्यालयले ४१८ र पूर्वाञ्चल विश्वविद्यालयले २४० विद्यार्थीलाई वार्षिक रूपमा कृषि विषय पढाउँदै आएका छन् । तीनवटै विश्वविद्यालयमा गरी १४८ जनाले स्नातक भेटेनरी र रामपुरमा १६ जनाले मत्स्यविज्ञान (फिसरिज) पढ्दै आएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले केन्द्रीय क्याम्पसमा १६८ जना विद्यार्थीलाई कृषि शिक्षा पढाउँदै आएको छ ।

विश्वविद्यालयले पाँचवटा आङ्गिक क्याम्पसमा बिएस्सीए कार्यक्रम सञ्चालन गरेको छ । थप दुई सञ्चालनको तयारीमा छन् । विश्वविद्यालयले गत असार २० गते आठ वटा निजी क्याम्पसलाई सम्बन्धन दिएको थियो । तर, विद्यार्थी तथा प्राध्यापकको विरोधपछि विश्वविद्यालय विवादमा परेको छ ।

त्रिभुवन विश्वविद्यालयले लमजुङको सुन्दरबजारमा एक सय, पक्लिहवामा एक सय, झापा र चितवनमा ५०–५० जना विद्यार्थी पढाउँदै आएको छ । त्रिविको सम्बन्धनमा दाङको तुलसीपुर र घोराही, इलाम निजी क्याम्पसले कृषि शिक्षा ५०–५० जना विद्यार्थी पढाइरहेका छन् । बैतडीमा त्रिविकै सम्बन्धनमा समुदायस्तरबाट सञ्चालित क्याम्पसले विद्यार्थी पढाइरहेको छ ।

पूर्वाञ्चलको सम्बन्धनमा निजी कलेजले चितवनको भरतपुरमा ५० र काठमाडौंमा ५० जना विद्यार्थी पढाउँदै आएका छन् । कृषि विषय पढाउने विषयमा छुट्टै विश्वविद्यालय भएपनि अन्यले पनि चासोमात्रै नभएर शुरु नै गरिसके । तर, कृषि पढ्नेहरू नेपालमा भएमा सरकारी जागिर, होइन भने सिधै अमेरिका र यूरोपमा हानिएका छन् ।