विराटनगर/ मोरङको कानेपोखरी गाउँपालिका –१ होक्लाबारीका जोहल मुर्मुको सवारी र्दुघटनामा परेर ४ वटा करङ र मेरूदण्ड भाँचियो । तत्काल उपचारका लागि उनी विराटनगरको नाम चलेका अस्पतालमा पुगे । उनलाई चिकित्सकले शल्यक्रिया गरी उपचार गर्न सुझाव दिए । तर शल्यक्रियाको विकल्प खोजिरहेका उनी मोरङको रङ्ेगली–४ आमतोलामा रहेको जगदम्बा मुर्मू योग जडीबुटी उत्पादन तथा उपचार सेवा केन्द्रमा पुगे ।

उक्त केन्द्रका वैद्य लखिराम मुर्मूकोे जडीबुटी औषधि खाएपछि आज उनलाई निकै राम्रो भएको छ । सेवा केन्द्रमा रहेर नियमित उपचार गराउँदै आएका मुर्मूले जडिबुटीबाट अहिले ठीक हुँदै गएको उनले बताए । ‘सेवा केन्द्रमा आएर जडीबुटीबाट उपचार शुरु गरेको १५ दिन भयो,’ उनले भने, ‘नियमित जडीबुटीको औषधी सेवनले ठीक हुँदै गएको छ ।’ यस्तै मोरङ कटहरी गाउँपालिकाका लखन राजवंशीको दायाँ खुट्टा भाँचियो । उनी पनि जडीबुटीबाट उपचार गर्न जगदम्बा मुर्मू योग उपचार केन्द्रमा पुगेका थिए ।

दुई महिनाको उपचार पछि अहिले पूर्ण रूपमा उनी ठीक भएका छन् । उपचार केन्द्रमा भेटिएका राजवंशीले भने, ‘दुई महिनाको उपचारपछि अहिले ठीक भएको छु । दुर्घटना भएर खुट्टा भाँचिएपछि चिकित्सकले शल्यक्रिया गरेर स्टिल लगाउनुपर्छ भन्नुभयो,’ उनले भने, ‘मलाई निक्कै डर लाग्यो । शल्यक्रिया गर्नुभन्दा जटिबुटीबाट उपचार गर्ने निधो गरेँ ।’ नियमित रूपमा जडीबुटीबाट उपचार गरेपछि अहिले ठीक भएर पुरानै अवस्थामा पुगिसकेँ जस्तो महसुस भएको उनले बताए । ‘पछिल्लो ल्याब रिपोर्टले पनि खुट्टा ठीक भएको देखाएको छ,’ उनले भने, ‘पहिला जसरी अहिले पनि राम्रोसँग हिँडडुलसँगै काम पनि गर्न सक्ने भएको छु ।’

उल्लिखित घटना प्रतिनिधिमूलक हुन् । जगदम्बा मुर्मू योग जडीबुटी उत्पादन तथा उपचार सेवा केन्द्रमा उपचार गराउन आउने यस्ता बिरामीको भीड नै लाग्ने गर्छ । लखिरामले ग्रामीण बस्तीका निमुखादेखि हुने खाने र मन्त्रीसम्मको उपचार गरेका छन् । वैद्य लखिरामले २०६५ सालदेखि जडीबुटीबाट प्राकृतिक उपचार व्यावसायिक रूपमा शुरु गरेका हुन् । ‘हाम्रो सामुदायमा बाबु बाजेका पालादेखि जडीबुटीबाट उपचार गर्दै आएका छौँ,’ उनले भने, ‘पुख्र्यौली पेशालाई आफूले पनि अँगाल्दै आएको हो ।’ उनले गम्भीर प्रकृतिका समस्या, आधुनिक उपचार पद्धतिले विभिन्न प्रकारका हेपटाइटिसहरू, हाड जोर्नी, मेरूदण्ड, ढाड भाँचिएको, पाता खुस्केको, पायल्स, ग्याष्टिक, क्यान्सरसमेतको आयुर्वेदिक उपचार गर्दै आएका छन् । ७१ वर्षीय लखिरामले बुबा र हजुरबुबाको वैद्य पेसाबाट यो उपचार पद्धति सिकेका हुन् ।

‘मेरो कुनै औपचारिक अध्ययन होइन तर मेरा बाजे, हजुरबुबा र बुबाले परापूर्वकालदेखि नै गर्दै आएको पेसा र उहाँहरूले नै मलाई सिकाएकाले मैले अहिले यस्ता धेरै रोगको उपचार गर्ने गरेको छु’, उनी भन्छन् । उनका अनुसार सङ्घीय सरकारका स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पनि जडीबुटीबाट उपचार गरेको बताए । ‘मन्त्री हुनुभन्दा अगाडि उपेन्द्र यादव ढाडको समस्या भएर मेरो म कहाँ आउनुभएको थियो,’ उनले भने, ‘ढाडको समस्या भएपछि उहाँलाई मैले आयुर्वेदिक पद्धतिबाट उपचार गरेपछि जडीबुटिको औषधीहरू दिएका थिए । ठीक पनि हुनुभयो ।

त्यसपछि आउनुभएको छैन ।’ यस्तै पूर्व मन्त्री गोपाल किरातीको पनि आयुर्वेदिक पद्धतिबाट उपचार गरेको उनले बताए । उनले आफ्नै घरको उपचार केन्द्रमा १८ वटा बेड राखेका छन् । उपचार केन्द्रमा आउने बिरामीहरूलाई लामो समयसम्म बस्नु परे त्यही बेडमा राख्ने गरेका छन् । बिरामी जाँच गरेको १ सय ५० रुपैयाँ र औषधीको मात्र उनले पैसा लिने गरेका छन् । बेडमा बिरामी राखेकोे निःशुल्क छ । उपचारको क्रममा जति महिना बसेपनि निःशुल्क रहेको उनले बताए । खानपिनको व्यवस्था भने बिरामी स्वयम्ले गर्नुपर्ने हुन्छ ।

उनको औषधिको स्रोत नेपालकै जडीबुटी हुन् । नेपालकै जडिबुटीबाट उनले उपचार गर्दै आएका छन् । ‘औषधि त म धेरै पहिलादेखि नै दिन्थेँ तर आयुर्वेद उपचारको केन्द्र नै दर्ता गरेर व्यावसायिक रूपमा सेवामा लागेको भने २०६५ सालदेखि नै हो’, उनी भन्छन् । यति खेर उनको उपचार केन्द्रमा नेपालका विभिन्न शहर र छिमेकी मुलुक भारतका बिरामी उपचाररत छन् । जडीबुटीबाट हुने प्राकृतिक उपचारमा विश्वास बढ्दै गएको जानकारी दिँदे उनले जडीबुटी उपचारका नाममा अहिले धेरै विकृतिहरू आएको प्रति चिन्ता व्यक्त गरे ।

‘विज्ञापन दिएर हल्काफुल्का उपचारका लागि पैसा असुल्ने गरेको देखिएकाले आफूले कहिल्यै यस्तो विज्ञापन गरेको छैन’, उनी सुनाउँछन्,’ उपचारमा आएका बिरामीकै एक अर्काको सम्पर्कबाट मसँग बिरामी आउने गरेका छन् ।’ हामीले हाम्रा अमूल्य जडिबुटी चिनेर पनि सदुयोग गर्न नसक्दा हामी रोगी भएका मात्र छैनौँ कि हाम्रो यो अमूल्य सम्पदा गुन्दु्रकको भाउमा बाहिरिएको उनले बताए । उनी भन्छन्,’ हामी तिनै जडिबुटीबाट बनेका औषधि महङ्गोमा सेवन गर्न बध्य भएका छौँ ।’ उनको उपचार केन्द्रमा मासिक ६ सय बिरामी उपचार गर्न आउने गरेका छन् ।