इटहरी/ सङ्खुवासभाको सभापोखरीकी प्रतीक्षा तामाङलाई घाँस काट्दै गर्दा सर्पले टोक्यो । उपचारको लागि हतार–हतार जिल्ला अस्पताल सङ्खुवासभा पुर्याइए पनि उपचार हुन सकेन ।

अस्पतालले इटहरीस्थित सामुदायिक उपचार केन्द्र रेफर गरिदियो । अहिले तामाङको इटहरीमा उपचार भइरहेको छ । जिल्लामा उपचार नभएपछि यहाँ आउनुपरेको बताउँछिन् आफन्त निर्मला तामाङ । ‘धन्न उपचार भइरहेको छ हामीलाई धेरै समस्या भएको थियो’ निर्मला भन्छिन्, ‘उतै राखिरहेको भए ठूलो समस्या हुने रहेछ यहाँ ल्याएर बाँच्न सफल भइन् ।’

भोजपुर जरायोटारकी जुनु श्रेष्ठले समयमै इटहरीमा उपचार पाएपछि बाँच्न सफल भएको बताइन् । इटहरी आउँदा उपचार पाएर बाँचेको उनी बताउँछिन् । सर्पले टोकेका बिरामी समयमै सर्पदंश उपचार केन्द्रमा ल्याइपुर्याए बचाउन सफल हुने देखिएको बिरामीका आफन्त सीताराम भट्टराईले बताए । छोरालाई समयमै ल्याएपछि डाक्टरले पनि हतार–हतार सेवा दिएकैले छोरो बाँच्न सफल भएको उनको भनाइ थियो ।

वर्षायाम शुरु भएसँगै सर्पको बिगबिगी हुने गरेको छ । गर्मी र वर्षाका कारण सर्पको बिगबिगी हुने गर्छ । असारको तेस्रो हप्ता बितिसक्दा पनि पानी त परेको छैन तर चर्को गर्मीले सर्पहरू जमिन तातो भएपछि शीतल खोज्दै घरका कोठा, गोठमा आउने गर्छन् । इटहरीमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको संख्या बढ्न थालेको पाइएको छ ।

इटहरीको सामुदायिक सर्पदंश उपचार केन्द्रमा सर्पको टोकाइबाट बिरामीको सङ्ख्या बढेको सर्पदंश उपचार केन्द्र इटहरीले जनाएको छ । सामुदायिक सर्पदंश उपचार केन्द्रमा पूर्वी पहाडी जिल्लाबाट पनि बिरामी आउने गरेका छन् । वर्षायाम शुरु भएसँगै असारसम्म ४ सय २१ जना बिरामीले उपचार गराइसकेको सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका अध्यक्ष दिवस पोखरेलले बताए । उनले भने, ‘गर्मी बढेसँगै सर्पले टोकेका बिरामीसमेत बढेका छन् ।’

वैशाख महिनामा १ सयजना, जेठ महिनामा १ सय ८५ र असार महिनामा गत हप्तासम्म १ सय ३६ जनाले उपचार गराइसकेका छन् । सर्पले टोके त्यसको उपचारमा एन्टिस्नेक भेनम प्रयोग गरिन्छ । सर्पले टोकेका बिरामीलाई कस्तो सर्पले टोकेको हो भन्ने छुट्याउने कुनै पनि प्रविधि छैन । बिरामीको अवस्था, सर्पले टोकेका चिन्हहरूलाई अनुसन्धान गरेर उपचार हुने गरेको नेपाली सेनाका प्राविधिक डम्बर बस्नेतले बताए ।

नेपालमा गोमन र करेत प्रमुख विशालु सर्प हुन् । मुख्यतया यी सर्पले टोकेका बिरामी तराई क्षेत्रमा बढी हुने गरेको प्राविधिकहरू बताउँछन् । यस्ता सर्पले टोकेका बिरामी समयमै सम्बन्धित ठाउँसम्म पुर्याउन सकिएन भने मृत्युसमेत हुनसक्छ । तर पहाडी क्षेत्रमा पाइने ग्रिनभाइपर टाइपका सर्पले टोकेमा तत्काल मृत्यु नभए पनि त्यसले शरीरीको अङ्ग नै कुहिएर झर्ने सम्भावना हुने प्राविधिक डम्बर बस्नेतले जानकारी दिए ।