पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे स्थित वडा नम्वर २ को विष्णुचोकमा निर्माण भइरहेको ड्रेन निर्माणमा कमजोरी भए पछि अन्गमन समितिले पुनभत्काएर निर्माण गर्न निर्देशन दिएको छ ।
ड्रेनको उचाई बढी भएको देखिएपछि ६० फिट ड्रेन भत्काएर पुननिर्माण गर्न लगाइएको नगरपालिका उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वाँस्तोलाले बताइन । त्यहाँ ड्रेन भत्काएर पुन निर्माण सुरु भएको छ । बुद्धमार्ग अन्तर्गतको नगरपालिकाको २० लाख रकममा ड्रेन निर्माण कार्य भइरहेको छ ।

यसैगरी, पछिल्लो अनुगमनका क्रममा वडा नम्वर ५ मौलिवारीमा रहेको पुलको दायाँ वायाँ लगाएको तारजालीको काम गुणस्तरीय नभएकाले सो काम दोहोर्याएर गुणस्तरीय रुपमा गर्न समितिलाई निर्देशन दिइएको छ । नगरको कन्टेजेन्सी बापत जम्मा भएको रकमबाट ४ लाख ५० हजारमा पुल र तारजाली लगाउने योजना हो । ‘यस अघि पनि केही योजनाहरु दोहोर्याइएको थियो । गुणस्तरीय र स्टिमेटमा भएको मात्रामा नगरिएको भेटिए पछि उनीहरुलाई थप काम गर्न सुझाव दिएर काम सम्पन्न गर्न यो पटक पनि कडाईका साथ सुझाव दिइएको छ ।’– समिति संयोजक वाँस्तोलाले प्रष्ट्याइन् ।

नगरका प्राविधिकसहितको समितिले पछिल्लो पटक यी २ योजना सहितका योजनाको अनुगमन् गरेको छ । वडा नम्वर ७ को मंगलबारे उत्तमचोक हुँदै धिमाल टोल जाने सडकमा १० लाख बजेटमा ३ मिटर लम्वाई र ५ दशमलव ५० मिटर चौडाईको पक्कीपुल निर्माणको अनुगमन् भएको छ ।

त्यसैगरी, वडा नम्वर १० को शिविर डाँडामा रहेको ओमसिआर जम्बुलिङ बज्रगुम्वाको वाल तथा कोठा निर्माणमा प्रदेश सरकारको ७ लाखको लागतमा सम्पन्न भएको कामको अनुगमन भएको छ । संघको सांसद विकास कोषमार्फतको ४५ लाख तथा उपभोक्ताहरु समेतबाट ५८ लाख २३ हजारको लागतमा वडा नम्बर २ को बोक्रेचोक दक्षिण कालोपत्रे सडकको पनि उसैगरी अनुगमन भएको छ । ८ सय मिटर लम्वाई र ५ दशमलव ५० मिटर चौडाईको सडक निर्माण भएको हो ।

टोलीले, वडा नम्बर ५ को सुगावजारमा संघीय सांसद विकास कोषको ३५ लाख तथा स्थानीयले समेत गरी ४० लाख १७ हजार रुपैयाँमा ५ सय ३० मिटर लम्वाई तथा ५ दशमलव ५ मिटर चौडाईको सडकमा कालोपत्रे निर्माणको पनि अनुगमन गरेको छ ।

राष्ट्पति चुरे कार्यक्रम अन्तर्गत, २५ लाखको लागतमा वडा नम्वर १ को शान्ति भुल्के सिमसार, २ को नागवेली पोखरी सहितका नगरका ४ वटा पोखरी निर्माण कार्यको पनि अनुगमन मुल्यांकन गरिएको छ । त्यसका साथै वडा नम्वर १ को सुनाखरी खेलमैदान, ८ को सडक ग्राभेल तथा पुल सहितका योजनाहरु समेत अनुगमन् गरिएको छ ।