सिरहा/सिरहामा गर्भपतनका लागि मान्यता नपाएका नर्सिङहोमले पनि गर्भपतन गराउँदै आएको खुलेको छ ।

मिर्चैया नर्सिङहोममा गर्भपतन गराउन गएकी एक महिला गर्भपतन गराउँदा रक्तश्राव नरोकिएपछि उक्त भेद खुलेको हो । आर्थिक प्रलोभनमा परी गर्भपतन गराएको स्थानीयको आरोप छ ।

नर्सिङहोमका डाक्टर सम्भु यादवले ४ महिनाको गर्भपतन गराएका कारण रक्तश्राव भएको बताए । घटना बाहिर आएलगत्तै प्रहरी र स्थानीयहरू नर्सिङहोम पुगेका थिए ।

त्यहाँ महिलाको उपचार सम्भव नभएपछि थप उपचारको लागि लहानस्थित सप्तऋषि अस्पतालमा पठाइएको जनाइएको छ । नर्सिङहोमका डाक्टर शम्भु यादवलाई फोनमा बुझ्दा पहिलादेखि नै रक्तश्राव भइरहेको बताए ।

उनले आफूहरूले उपचारपछि डिस्चार्ज गरिसकेको अवस्थामा बाटोमा जाने क्रममा रक्तश्राव भएको बताए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ अभियान’ को घोषणा गरेका बेला मिर्चैया, लहानलगायतका स्थानमा लिङ्ग पहिचान गरी भु्रण हत्या फस्टाएको हो ।

लिङ्ग परीक्षण कानूनीरूपमा प्रतिबन्ध भए पनि सिरहाको मिर्चैया, लहान, सिरहालगायतका स्थानमा खुलेआम रूपमा दुईहजार पाँचसय लिएर छोराछोरी छुट्याउने गरेको नाम नछाप्ने शर्तमा एक महिलाले बताइन् ।