इटहरी/ बर्सेनी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्दो छ । तर, दुर्घटना, जोखिम घटाउने र नियमन गर्ने उपायको खोजीमा सरोकारवालाको चासो देखिँदैन ।

ग्रामीण सडक जीर्ण छन् । साँघुरा र भत्केका सडकमा मनपरी सवारी हाँक्ने गरिएको छ । ट्राफिक नियम पालना हुँदैन । सवारीको गतिमा एकरूपता छैन । अधिकांश घटनामा चालकको लापरबाही मुख्य कारण हुने गरेको प्रहरी अनुसन्धानले देखाएका छन् । सडकको अवस्था, चालकको लापरबाही र अस्वस्थ प्रतिस्पर्धाले गर्दा दुर्घटना बढेको ट्राफिक बताउँछ ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता इन्स्पेक्टर राजेश राईले दुर्घटनाको ग्राफ अघिल्लो वर्षभन्दा केही घटेको बताए । चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्म ३ सय ३४ जनाको दुर्घटनामा मृत्यु भएको छ । अघिल्लो वर्षभन्दा दुर्घटनामा केही कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा ४ सय २४ जनाको मृत्यु भएको थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष मृत्यु हुनेमा ९० जनाले कमी आएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षमा १७ सय २ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनमा ५ जना बालिका, ९ जना बालक, ४५ जना महिला र २ सय ७५ जना पुरुषको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा करिब ३ हजार सर्वसाधारण घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ ।

लापरबाहीले दुर्घटना बढ्दो
लापरबाहीका कारण सडक दुर्घटना बढिरहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । साँघुरो सडकका कारण दिनहुँजसो दुर्घटना हुने गरेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्यासमेत बढेको छ । तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको पाइएको छ ।

चालकको लापरबाहीले चालू आर्थिक वर्षमा ५ सय ५ सवारी दुर्घटना भएको बताइएको छ । ओभरलोडका कारण १५ वटा दुर्घटना भयो । त्यस्तै तीव्र गतिको कारण ४० सवारी दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ । त्यस्तै मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा ४० वटा दुर्घटना भयो । ४२ जनाले ओभरटेक गर्दा दुर्घटना भएको पाइएको छ ।

८० वटा दुर्घटना यात्रुको गल्तीले गर्दा भएको छ । सबैभन्दा धेरै ८ सय २७ वटा मोटरसाइकल दुर्घटनामा परेको छ । ट्रक १ सय २४, बस १ सय २९, कार–जिप २ सय ४५ र ट्याक्टर १ सय ३१ वटा दुर्घटना भएको थियो । प्रत्येक वर्ष सडकमा सवारी साधन थपिने क्रम बढ्दो छ । तर त्यस अनुपातमा सडक विस्तार भने हुन सकिरहेको छैन ।

बरु भएका सडकसमेत अतिक्रमणको चपेटामा परी साँघुरा बन्दै गएका छन् । सडकमा जे गरे पनि हुन्छ भन्ने मानसिकताका कारण सडकमा बिस्कुन सुकाउने, गाईवस्तु बाँध्नेदेखि सडकमै पसल थाप्नेसमेत गरिएको छ । धेरै कमाइने लोभमा चालक र व्यवसायीले मनपरी यात्रु कोच्दा र ओभरटेक गर्दै जथाभावी गाडी हुइँक्याउँदा सडक दुुर्घटना हुने गरेको छ । अझ कतिपय चालकहरूले त मदिरा सेवन गरेर गाडी कुदाउने गर्छन् भने मोबाइल फोनमा कुरा गर्दै गाडी हाँक्नु चालकहरूका लागि सामान्यजस्तै बनेको छ ।