ताप्लेजुङ। ताप्लेजुङमा गत चैत्र यता मात्र प्रहरीले जिल्लाका विभिन्न स्थानवाट २ सय ६३ थान बन्दुक संकलन गरेको छ । वैध तथा अवैध गरि ४ महिनाको अवधीमा बन्दुकहरु संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी संञ्जयसिंह थापाले बताए । प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरी बन्दुक सार्वजनिक गरेको छ ।

डिएसपी थापाका अनुसार बरामत भएका हतियारमध्ये केही हतियारधनी आफैंले प्रहरीलाई बुझाएका छन् भने केही हतियार भएको सूचनाका आधारमा प्रहरी पुगेर सङ्कलन गरिएका हुन् । जसमा २ सय ५ नाल बन्दुक तथा ३ राउण्ड गोली अवैध र ५८ नाल बन्दुक तथा ५ राउण्ड गोली ईजाजत प्राप्त रहेको डिएसपी थापाले जानकारी दिए । विगतमा जिल्लामा हतियारकै कारण विभिन्न दुखद घटना भएको भन्दै थापाले अव त्यस्ता घटनामा कमि हुने विश्वास लिए ।

बरामद हतियारमा सवैभन्दा वढि भरुवा बन्दुक रहेका छन् । डिएसपी थापाका अनुसार संकलित हतियारमा भरुवा बन्दुक २ सय ६३ नाल, सर्ट गन २ नाल, १२ वोरे जोर नाले ५ नाल, टु.टु. १ नाल, म्याग्नाम १ नाल, रिवलभल १ थान र ३ राउण्ड गोली रहेका छन् ।

जिल्लामा अवैध हतियारहरुका कारण सुरक्षा चुनौती बढेको साथै जताभावी प्रयोगले सर्वसाधारणको ज्यान समेत जाने गरेकाले अभियान नै सञ्चालन गरि हतियार संकलन गरेको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । यसअघि गत माघमा बसेको सर्वपक्षिय बैठकले समेत गाउँघरमा भएका हतियारहरु सङ्कलन गर्ने निर्णय गरेको थियो ।

हतियार सङ्कलन गर्ने निर्णय भएपछि जिल्लाका सबै स्थानीय तहलाई पत्रचार गरी अवैध हतियार सङ्कलन अभियानमा सहयोग गर्न आग्रह गरिएकाले स्थानिय जनप्रतिनिधीको समेत सहयोगमा यत्तिका परिमाणमा हतियार संकलन गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।