उदयपुर । उदयपुरको ऐतिहासिक गैंडा आहाललाई स्थानीय सरकारले संरक्षण तथा पर्यटकीय विकासको लागि चासो देखाएको छ । कटारी नगरपालिका–५ का ऐतिहासिक गैंडा आहालको नगरपालिकाले डिपिआर तयार पारेर संरक्षण तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भएको हो ।

पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेका आहालको संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको थियो । स्थानीय तहले आहाल व्यवस्थापन तथा संरक्षण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि डिपिआर तयार गरेको पालिकाले जनाएको छ । आहालको संरक्षण गर्नका लागि करिब १५ वर्ष पहिले जिल्ला विकास अन्तर्गतका जिटिजेडले सामान्य बाँध लगाएको थियो । पोखरीको संरक्षणको नाममा सामान्य बाँध लगाएपछि अहिलेसम्म कुनै प्रकारको काम हुन नसकेको पालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमबाटै आहालको संरक्षण तथा व्यावस्थापन गरि पर्यटकिय क्षेत्रको विकास गर्ने कटारी नगरपालिकाको मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । नीति तथा कार्यक्रममै आहाल व्यवस्थापन तथा संरक्षण समेटिएकाले काम तुरुन्त थालिने उनले बताए । आर्थिक वर्षको शुरुवाती साउन–भदौमा आहालको डिपिआर तयार गरी पालिकाकै पर्यटन क्षेत्रको रूपमा विकास गर्ने मेयर श्रेष्ठले बताए । आहालको कामका लागि आफैं लागि पर्ने उनले बताए ।

तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारी समक्ष गैंडा आहालको पूर्वाधार विकासका लागि नगरपालिकाले मन्त्रालयमा माग गरेको थियो । आहालको संरक्षण र विकासका लागि पहल गर्ने प्रतिवद्धता जनाएका अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाले मन्त्रालयबाट यसको काम अघि नबढेको मेयर श्रेष्ठले बताए ।

पहिले–पहिले त्यस आहालमा गैंडाहरू आहाल खेल्न आउने भएकाले आहालको नाम नै गैंडा रहन गएको स्थानीयबासीले जनाएको छ । २०३० भन्दा अगाडि पानीको स्रोत भएकाले आहाल आसपासका क्षेत्रमा मानव बस्ती बसेको थियो तत्कालीन वनमन्त्री हरिबहादुर बस्नेतले गैंडा संरक्षणमा समस्या हुने भन्दै बस्ती अन्तै सारेको स्थानीय नेत्र थापाले बताए । बाह्रैमास पानी नसुक्ने आहालमा विभिन्न वन्यजन्तु र चराचुरुङ्गी आउने गरेको स्थानीय थापाले बताए । आहाल वरिपरि हरियाली जङ्गल र वरपरको चौरले मनोरम दृश्य रहेको छ ।

आहालको संरक्षण र प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिने उनले बताए । कटारी बजारदेखि आहाल पुग्न सवारी साधनमा करिब २० मिनट लाग्छ । तर सडक गोरेटो र प्रचार–प्रसारको अभावमा बजारबासीलाई आहालको बारेमा खासै थाहा नभएको स्थानीयबासी मोहन तामाङले बताए । यसको पर्यटकीय विकास गर्न सके पालिकाको एक मुख्य पर्यटकीयस्थल समेत बन्ने उनले बताए ।