राहुप्रधान व्यक्ति सदैव अतृप्त रहन्छन्, तृप्ति उनीहरूलाई प्राप्त नै हुँदैन । उनीहरूको कार्य सदैव अपूर्ण रहन्छ, असफलताको सूचक नै राहु हो । जीवनपर्यन्त एक पीडाको घाउ उनीहरूमा रहन्छ ।
जीवन सधैँ द्वेषपूर्ण रहन्छ । द्वेष उनीहरूमा पर्याप्त रहन्छ ।

राहुप्रधान व्यक्तिको जिब्रोले आफ्नो ओठ चाटिरहन्छन् या जिब्रो बाहिर निकालिरन्छन् सर्पको जस्तो । अनि अरूको लागि विष निकाल्छन् तर क्रियाशक्तिको लागि सक्रिय नहुन सक्छन् । कारण राहुको शिर त छ तर शरीर छैन । राहु पाप ग्रहमा परिचित छ र यसलाई छायाँग्रहको रूपमा पनि ज्योतिष शास्त्रले स्वीकारेको छ । राहु जुन राशिमा बस्छ, त्यही राशिको स्वामीको स्वभाव र प्रकृति ग्रहण गर्छ । यस अर्थमा मङ्गल, सूर्य, शनिजस्तो पापग्रहको घरमा राहु स्थिर हँुदा त्यसको ताप, राप अझ बढ्छ, अझ उग्र हुन्छ र नकारात्मकता बढी पाइन्छ ।

राहु आफै पृथक प्रभाव दिने, पृथकता ल्याउने ग्रह हो । यो सूर्य र शनिजस्ता पृथकता प्रभाव भएकै राशिमा राहु स्थिर हुँदा त्यसको प्रभाव अझ बढ्छ । कुण्डलीमा यस्ता भावहरू पनि छन्, जहाँ राहुको उपस्थितिले माता, सन्तान, श्रीमती, पिता, जोठो दाजु र श्रीमती समागम सुखमा न्यूनता ल्याउने मात्र होइन कि पृथक नै गराउँछ । अपराध मनोवृत्ति, हत्या, कारागार, मादक पदार्थ, हातहतियार मोह यी सबै अनिष्ट राहुमा देखिन्छ ।

राहु अचानक प्रकट हुन्छ । राहुको प्रभाव अचानक देखिन्छ । पीडित जातकलाई पीडापछि घटित घटना थाहा हुन्छ कि राहुले स्पर्श गरिसक्यो । राहुले एकाएक कार्य गर्छ र नतिजा दिएर जान्छ शुभ होस् या अशुभ तर अचानक घटित हुन्छ । यहीँनेर ज्योतिषीहरू फेल खान्छन् । यहाँ म राहुको प्रकृति र स्वभावलाई बुझ्न केही उदाहरण राख्दैछु । जस्तो कि आकाशमा चम्किएको विजुली र बज्र, समुद्रको छाल र सुनामी यस्ता घटना हुन् जो घटित भएपछि मात्र त्यसको प्रभाव थाहा हुन्छ । ठीक त्यस्तै हो राहु पनि । ज्योतिष शास्त्रमा यौटा आश्चर्य के देख्छु भने मकहाँ अधिकांश जन्मपत्रिका देखाउन आउनेहरूमा राहु, शनि र अलिक कम मात्रामा मङ्गलपीडितहरू रहेका देखिए ।

यो कुरालाई आधार मान्ने हो भने यो बुझ्नुस् कि तपाईंको जीवन अस्त–व्यस्त, उतार–चढाव, पारिवारिक जीवनमा कटुता, सन्तान कुलतमा, आफ्नो पकडबाट बाहिर रहनु, दुर्घटना, रोगव्याधी आदि देखिँदै छ भने कि राहु या कि त शनिबाट प्रभावित भइरहनुभएको छ । आफैले आफूलाई हेर्नुस् कहीँ तपाईंमा उपरोक्त गुण र स्वभाव त छैन ? राहुलाई कसले खत्तम ग¥यो । राहुलाई कसले सफल हुन दिएन सम्झनुस् र त्यसको साधना गर्नुस् राहुदोष समन हुन्छ ।

राहु छल–कपट र विभिन्न प्रपञ्चमा माहिर छ यो तिलस्मी हुन्छ । विशेषतः राहु अपराधकर्मी, तस्कर, राजनीतिमा माहिर हुन्छ । राहुप्रधान व्यक्ति सधैँ अतृप्त रहन्छन् । असफलताको पर्यायवाची नै राहु हो र अन्ततः श्रीविष्णुको सुदर्शन चक्र चल्छ ।

राहुको दोष राहुको उपचार राहुको शान्ति नै सुदर्शन साधना हो । नागदोष काल सर्प योग राहुजन्य दोष राहुको महादशा अन्तरदशा गोचरमा राहुको प्रतिकूलतालाई समन गर्न यी नामावली पाठ गरेमा शुभ परिणाम मिल्छ–

जरत्कारु
जगद्गौरी
मनसा
सिद्धयोगिनी
वैष्णवी
नागभामिनी
शैली
नागेश्वरी
जरत्कारुप्रिया
आस्तिकमाता
विषहरि
महाज्ञानयुता
मनसा माताको द्वादशाक्षर मन्त्र
ऊँ ह्रीं क्षीं ऐं मनसा देव्यै स्वाहा
अष्टाक्षर कृष्ण मन्त्र
ऊँ श्रीं ह्रीं क्लीं कृष्णाय नमः

विशेष गरेर पञ्चमी तिथिबाट शुरु गर्नुस् अर्को पञ्चमी तिथिसम्म नियमित भङ्ग नहोस् ।

नागपञ्चमीमा विशेष उपाय
नाग पञ्चमी जसको कुण्डलीमा कालसर्प योग छ, राहु दूषित छ । राहुबाट विषयोग निर्माण भएको छ । राहुबाट शुभग्रहमा दृष्टि पुगेर शुभग्रह पीडित छ । गोचरमा राहु अशुभ छ, राहुबाट ग्रहण योग निर्माण भएको छ, राहुको महादशा चलिरहेको छ, सङ्कटा चलिरहेको छ, आफ््नै परिवारमा कोही कसैको अकालमा मृत्यु भएको छ । पितृदोष कुण्डलीमा देखिन्छ, सन्तानको पढाइमा बाधा भइरहेको छ, परिवारमा कोही विक्षिप्त छ, मानसिक असन्तुलन छ भने नागपञ्चमीको दिन दुई जोडी नाग बनाएर शिवालयमा चढाउने ।

दूधको अभिषेक शिवालयमा गर्ने, कुनै पनि दिन सपेराबाट साप लिएर निर्जन स्थानमा मुक्त गर्ने, कालिया नागमा नृत्य गरेको कृष्णको फोटो सधैँ आँखा पर्ने ठाउँमा राख्ने गरेमा शुभ हुनेछ । राहुले बुद्धि भ्रष्ट गर्छ । सरस्वतीको फोटो राख्ने नरिवल नदीमा सेलाउने, राहुको ग्रह शान्ति गर्ने र यो मन्त्र कुरु कुल्यै हुँ फट् स्वाहा जप्ने । नाग मन्त्र पनि जप्ने, नागको फोटो छोपेर बाँड्ने र गुरुलाई दिने, टाँस्ने प्रयोजनमा आउनेखालको नाग सहश्रनामा पाठ गराउने, माताको सधैँ आशिर्वाद लिने । यसो गर्दा राहुजन्य दोष न्यूनीकरण गर्न सकिन्छ । जय माँ दुर्गे ।