धरान । मंसिर १५ देखि २५ सम्म नेपालमा हुने १३ औं दक्षिण एसियाली गेम(साग) खेलका लागि बाँस्केटलबलको बन्द प्रशिक्षण धरानमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का राष्ट्रिय टिम तयारी निर्देशक महेन्द्र राईले शुक्रबार धरान उपमहानगरपालिकाको लगानीमा धरान रंगशाला परिसरमा बनेको बहुउद्देश्यीय कर्वड हलको निरिक्षण गरेका छन् । निर्देशक राईले बाँस्केट वलको बन्द प्रशिक्षण प्रदेश १ को धरानमा गर्न उपयुक्त भएको बताए ।

धरान उपमहानगरको खेलकुद विकास समितिको पहलमा २० लाख लगानीमा इनडोर खेलका लागि तयारी गरिएको हलमा बन्द प्रशिक्षण तथा प्रतियोगिताकै लागि उपयुक्त भएको निर्देशक राईले जानकारी दिए ।

भौतिक पूण्र्वाधार अनुगमनका लागि निर्देशक राई, रापेखका पूर्व सदस्य विजय राई, बास्केटवल प्रशिक्षक विकास चाम्लिङ, धरान नगर खेलकुद विकास समितिका संयोजक सुवास राईलगायतको टोली रहेको थियो ।

निर्देशक राईका अनुसार अफगानिस्थानसहित ८ वटा देशका करिव एक हजार खेलाडीहरुले २७ विधाका लागि काठमाडौंमा प्रतिस्पर्धा गर्ने छन् । ‘राष्ट्रिय टिमहरुको सबै छनौट भइसकेको र साउनदेखि धरान, पोखरा, विरजञ्ज, कैलाली र काठमाण्डौंमा बन्द प्रशिक्षण शुरु हुने छ ।’–निर्देशक राईले भने ।

राखेपको आयोजनामा हुने प्रतियोगिताकाे तयारी भइरहेको छ । प्रतियोगिताका लागि राखेपले सरकारसँग ६ अर्व बजेटसमेत माग गरिसकेको राष्ट्रिय टिम तयारी निर्देशक राईले जानकारी दिए ।
१२ औं साग खेल सन् २०१६ मा भारतको आसाम राज्यमा भएको थियो । प्रत्येक २ बर्षमा हुने प्रतियोगिता एक बर्ष ढिलो गरेर नेपालमा हुन लागेको हो ।