धनकुटा/ अविरल वर्षाको कारण धनकुटाका विभिन्न स्थानमा २ सय १ घरमा क्षति पुगेको छ । सात स्थानीय तहमध्ये छथर जोरपाटी, चौबीसे गाउँपालिका, धनकुटा, पाख्रीबास र महालक्ष्मी नगरपालिका क्षेत्रमा बढी क्षति पुगेको जनाइएको छ ।

दुई दर्जन बढी घर भत्किएको र केहीमा आंशिक क्षति भएको जिल्ला प्रहरी प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिएका छन् । विस्थापित अधिकांश परिवारलाई नजिकका विद्यालय तथा छिमेकमा राखिएको छ । महालक्ष्मी नगरपालिका–५ लेगुवा बजारमा शनिबार बिहान ७.३० बजे तीन घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

कपडा पसल गर्दै आएका मोहम्मद अनुवारको कपडा पसल र घर भत्किँदा करिब ९ लाख बराबरको क्षति भएको छ । सोही स्थानका इन्द्रसागर दास, राजकुमार बुढाथोकीको घरमा समेत पहिरोले क्षति पुर्याएको एसपी कोइरालाले जानकारी दिएका छन् । आसपासका अधिकांश घर उच्च जोखिममा रहेको स्थानीय सन्तबहादुर कुँवरले बताए ।

महालक्ष्मी नगरपालिकाको जितपुर बजारस्थित प्रहरी चौकीसमेत पहिरोले जोखिम पुगेको छ । यस्तै पाख्रीबास नगरपालिका–५ स्थित घोर्लीखर्कमा तीन घरमा क्षति पुगेको छ । स्थानीय युवराज कार्की, चक्रबहादुर निरौला र ५ का वडाध्यक्ष गोपालबहादुर थापाको घरमा पहिरोले क्षति पुगेको प्रहरीले जनाएको छ ।

धनकुटा नगरपालिका–७ चुलीवनका लक्ष्मी लावतीको घरमा पनि क्षति पुगेको छ । शहीदभूमि गाउँपालिका–३ मा रहेको अजम्बरी प्राथमिक विद्यालयको भवन भत्किएको छ ।

छथर जोरपाटीस्थित सिँधुवामा रहेको निगाले सिमेन्ट फ्याक्ट्रीमा पहिरोले क्षति पुर्याएको सञ्चालक दिनेश पौडेलले बताएका छन् । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले–लेगुवा–भोजपुर सडकमा तीन दिनदेखि यातायात अवरुद्ध भएको छ । मूलघाट–त्रिवेणी सडक, तमोर करिडोर र सिँधुवा–लेगुवा सडकसमेत अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिए । घटनास्थलमा उद्धार र राहतको लागि पहल थालिएको उनले बताए ।