नेपालमा प्रत्येक वर्ष एक दर्जनको आसपासमा फिल्म अवार्ड आयोजना हुने गर्दछन् । तर, आजसम्म कुनै अवार्ड विवादरहित हुन सकेको छैन ।
 
राम्रोलाई भन्दा हाम्रोलाई दिने प्रवृत्तिका कारण नेपालमा फिल्म अवार्ड सधैं विवादित बन्ने गरेको छ । न दिनेले यसको महत्त्व बुझाउन सकेका छन्, न लिनेले यसको महत्त्व महसुस गर्न सकेका छन् । एउटा अवार्डमा उत्कृष्ठ ठहरिएको कलाकार अर्को अवार्डको मनोनयनमा पनि पर्दैन ।  नेपाली फिल्म अवार्डमा 'पैसा र आफन्तवाद' हाबी छ ।
 
अवार्ड सम्पन्नपछि उनको स्टाटसको कमेन्टमा अभिनेता सरोज खनालले राष्ट्रपति निवासमा बस्ने ठाउँ नभएर ट्वाइलेटको कमोडमा आराम गर्दै गरेको तस्बिर पोस्ट गरेका छन्, जसले 'राष्ट्रिय चलचित्र पुरस्कार' कै खिल्ली उडाएको छ ।
 
उनले तस्बिरसँगै लेखेका छन्, 'सम्मानित हुने र सम्मान गर्ने त सोफामा विराजमान थिए तर हामी पर्फमर करीब ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे । म चाहिँ ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसे ।
 
के गरुँ आफ्नै क्षेत्रको दुर्दशा । पब्लिकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र शेयर गरिनँ । तर, मनको बह कसैलाई भन्नु भन्छन् । त्यसैले आई शेयर विथ यू ।' उनले 'राष्ट्रिय चलचित्र पुरस्कार' मा नृत्य प्रस्तुत गरेका थिए । 
 
अभिनेता खनाल राष्ट्रपति निवासमा बस्ने ठाउँ नभएर ट्वाइलेटको कमोडमा बसेको तश्विर यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
 
उक्त तश्विर बाहिरिएपछि फिल्मकर्मीले राष्ट्रिय अवार्डको व्यवस्थापन गरेको चलचित्र विकास बोर्डको आलोचना गरेका छन् । अवार्डमा नृत्य गर्ने मध्येका एक अभिनेता रमेश उप्रेतीले पनि अभिनेता खनाल कमेन्टको 'स्क्रिन सट' आफ्नो फेसबुकमा साझेदार गरेका छन् । यसको अर्थ, उनी पनि 'राष्ट्रिय चलचित्र पुरस्कार' को व्यवस्थापनबाट रुष्ट छन् । 
 
राष्ट्रपति भवनमा बस्ने ठाउँ नभएर देशका गहन भनिने कलाकार ट्वाइलेटमा बस्न बाध्य हुनुले 'राष्ट्रिय चलचित्र पुरस्कार' को गरिमा कति उचो वा सम्मानित बनायो ? कलाकारको सम्मान र प्रोत्साहनमा आयोजना भएको देशको सबैभन्दा ठूलो पुरस्कारमा कलाकारले नै अपमान महसुस गर्नुले राष्ट्रिय अवार्डको औचित्यमाथि नै ठूलो प्रश्न उठेको छ ।
 
यद्यपि, चलचित्र विकास बोर्डले तीन वर्षदेखि रोकिएको अवार्ड गरेर एउटा सफलता भने हासिल गरेको छ । तर, अवार्ड गर्न सफल भएकोमा गर्व गर्ने वा कलाकारको अपमान भएकोमा माफी पनि माग्ने त्यो बोर्डमा निहित छ ।
 
साभारः फिल्मीखबरबाट