काठमाडाैं / अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ ।
विवरण अनुसार २५ जना घाइते भएका छन्। उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा ३३ जना बेपत्ता छन् । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ । प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १ मा १७, प्रदेश २ मा ८, प्रदेश ३ मा १३, प्रदेश ५ र ६ मा दुईदुई र काठमाडौंमा उपत्यकाको दुई जिल्लामा आठ गरी ५० जनाको मृत्यु भएको हो ।
अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ ।
बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एकएक जना, प्रदेश नं– १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एकएक तथा मोरङ र इलाममा तीनतीन जना छन् ।
प्रदेश नं– २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एकएक जना बेपत्ता छन् । प्रदेश नं– ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता छन् । यस्तै प्रदेश नं– ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं– १ मा आठ, प्रदेश नं– ३ मा १२ जना रहेका छन् । सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश नं– १ बाट १२ जना, प्रदेश नं– २ बाट ८२७ जना, प्रदेश नं– ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ । अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।