धरान/ लोकसेवा आयोगको विज्ञापन असमावेशी चरित्रको भएको भन्दै नेपाल आदिवासी जनजाति महासङ्घ नगर कमिटीले धरानमा राँके जुलुस प्रदर्शन गरेको छ ।

आयोगले आदिवासीलाई दिँदै आएको आरक्षित कोटासमेत घुमाउरो तरिकाले कटौति गरेको भन्दै महासङ्घ आन्दोलित बनिरहेको छ । यसक्रममा धरान नगर कमिटीले राँके जुलुस प्रदर्शन गर्दै आइतबार विरोध जनाएको हो ।

धरानको छाताचौकदेखि भानुचौकसम्म जुलुस प्रदर्शन गरिएको थियो । जुलुसका क्रममा प्रहरीसँग सामान्य विवाद सिर्जना भएको थियो ।

महासङ्घको नेतृत्वमा निकालिएको जुलुसमा दलित, मुस्लिम तथा महिलाहरू सहभागी बनेका थिए । लोकसेवाको विज्ञापन असमावेशी भएको नगर कमिटी अध्यक्ष सुवास हुक्पा चोङबाङले बताए ।

उनले आयोगले विज्ञापन खारेज नगरे आन्दोलन जारी रहने चेतावनी दिए । संविधानको मर्मविपरीत विज्ञापन खुलाएको उनले दाबी गरे । महासङ्घले देशव्यापी रूपमा सोमबार सिठ्ठी जुलुस निकाल्दै छ ।