बिर्तामोड/ गायक प्रकाश सपुत, शान्तिश्री परियार र नेपाल आइडलका सेकेण्ड रनर अप सुमित पाठकले मध्यरातसम्म झापाको बिर्तामोड तताएका छन् ।

बिर्तामोडको भद्रपुर रोडमा रहेको सिटी पार्टी प्यालेसमा उपस्थित बिर्तामोडबासीलाई गीतसङ्गीतमार्फत् मनोरञ्जन प्रदान गरे । शिखर बजारद्वारा तेस्रो वार्षिकोत्सवको अवसरमा ‘गलबन्दी दोहोरी नाइट’ कार्यक्रम आयोजना गरिएको थियो ।

तीनजना गायक–गायिकाले उपस्थित स्थानीयलाई मनोरञ्जन प्रदान गरेका थिए । पहिलो पटक झापा आएको बताउँदै गायक प्रकाश सपुतले झापालीको न्यानो माया पाएकाले फेरि पनि आउन उत्प्रेरणा मिलेको बताए ।

शिखर बजारले बिर्ताबजारमा रहेको आउटलेटको तेस्रो स्थापना दिवसको अवसरमा ख्यातीप्राप्त कलाकारको साथमा दोहोरी साँझको आयोजना गरेको हो ।

कार्यक्रममा सुमित पाठकले कुन माया सदर भो, झम्के गुलेली, जसो गर जे भन जतासुकै लैजाऊ मलाई र उनको पहिलो गीत समाचार गाएका थिए भने प्रकाश सपुत र शान्तिश्री परियारले बोलमाया, गलबन्दी च्यातियो, रेसम फिरिरीलगायतका लोकप्रिय आधा दर्जन गीत प्रस्तुत गरेका थिए ।

शिखर बजारका अध्यक्ष दीपेन्द्र राउतको अध्यक्षता र बिर्तामोड नगरपालिकाका नगरप्रमुख धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।