भण्टाबारी/ सप्तकोशीमा ५१ वर्षपछि ५६ वटै ढोका खोलिएको छ । शनिबार राति १० बजेको गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ७१ हजार नाघेपछि ब्यारेजको ५६ वटै ढोका खोलिएको हो ।

सन् १९६८ पछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको यो दोस्रो पटक भएको कोशी ब्यारेज प्रहरीले जनाएको छ । सन् १९६२ मा निर्माण भएको कोशी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो । कोलकाताको जोसेफ एन्ड कम्पनी लिमिटेडले निर्माण गरेको कोशी ब्यारेजको आयु सकिएको ७ वर्ष पुगेको छ । तर, आवश्यक मर्मत सम्भार गरिएको छैन ।

ब्यारेजको आयु लम्बिदै जाँदा पानीको बहाव सहन गर्ने क्षमता समेत कम्जोर बन्दै गएको छ । सोही कारणले कोशी ब्यारेज निर्माण भएको ६ वर्षपछि ९ लाख १३ हजार बहाव पानीको पुग्दा ५६ वटै ढोका खोलिएको ढोका यसपटक ३ लाख ७१ हजार क्युसेक मै खोलिएको हो । २०६५ साल भदौ २ गते सामान्य बहावमै कोशीको पूर्वी तटबन्ध भत्किएर ठूलो जनधनको क्षति भएको थियो ।

यस्तै इनरुवा संवाददाता अमर काफ्लेका अनुसार अविरल वर्षाका कारण नदीको जलस्तर निरन्तर बढ्दो क्रममा भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएका थिए । ९ लाख क्यूसेक पानी धान्न सक्ने क्षमता रहेका बताइए पनि ३ लाख ७१ हजार १ सय १० क्यूसेक बहाव रहँदा नै ढोका खोलिएका हुन् ।

५ लाख सम्मको बहावलाई सामान्य मान्दै आएको ब्यारेज कन्ट्रोल रुमले माथिको आदेश भन्दै नदीमा पानीको बहाव पौने ४ लाख नपुग्दै ब्यारेज पुलका ५६ ढोका खोल्यो । स्वयम् कोशी ब्यारेज कन्ट्रोल रुमका सहायक अभियन्ता इञ्जिनियर लाला दासले माथिको आदेशपश्चात् सबै ढोका खोलिएको जानकारी दिए ।

दासका अनुसार नदीको बहाव बढेसँगै बालुवाले ब्यारेजका ढोका थुनिएपछि पानी निकासमा असन्तुलनको स्थिति उत्पन्न भएको थियो । दासले भने, ‘पटनाबाट हाकिमको फोन आयो । नेपालमा भारी वर्षा हुँदैछ । नदीमा पानीसमेत बढेको छ । त्यसैले सबै ढोका खोलिदिनु ।’ कोशी ब्यारेज पूर्णरूपमा भारतीय पक्षको नियन्त्रणमा छ ।

भण्टाबारीका पप्पु यादव बढ्दो बहावसँगैको बालुवाले ढोका थुनिँदा पानी निकासीमा समस्या उत्पन्न भएपछि कोशी पुलसमेत खतरामा पर्ने देखेपछि सबै ढोका खोलिएको हुन सक्ने बताउँछन् । नेपालतर्फका सुरक्षा निकायले बालुवाका कारण पानी निकासमा समस्या उत्पन्न हुँदा भारतीय पक्षले सबै ढोका खोलेको बताउँदै आएका छन् ।

राति खोलिएका ५६ ढोका बिहानतिर क्रमशः बन्द गरिएका छन् । नदीमा पानीको बहावसमेत घटेको छ । पछिल्लो मापनअनुसार कोशी नदीमा पानीको बहाव २ लाख २४ हजार १ सय ५५ क्यूसेक प्रतिसेकेण्ड रहेको छ । चतरा मापन केन्द्रमा समेत पानीको सतहमा कमी आएको छ । कोशी ब्यारेज पुलको आयु सन् २०१२ मै सकिसकेको छ ।