विराटनगर/ महिलाविरूद्ध हुने सबै प्रकारको भेदभाव अन्त्य हुनुपर्ने एक कार्यक्रममा सहभागीहरूले जोड दिएका छन् ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) ले विराटनगरमा आइतबार आयोजना गरेको सम्वाद कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन सम्बन्धी महासन्धि (सिड) लाई सरकारले अनुमोदन गरिसक्दा पनि महिलामाथि विभेद हुने गरेको उनीहरूले बताए । सम्वाद कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निफको कार्यकारी निर्देशक कमला थापा मगरले महासन्धिमै महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गरिने भनिएपछि हालसम्म कार्यन्वयनमा नआएको बताइन् ।

‘अहिले पनि लिङ्गका आधारमा गरिने विभेद कायम रहेको छ,’ उनले भनिन्, ‘हाम्रो सामाजमा अहिले पनि महिला र पुरूषलाई समान रूपमा हेरिने गरेको छैन ।’ महिला माथि हुने हुने विभेदको अन्त्य हुनुपर्ने उनले जोड दिइन् ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) को तराई उपाध्यक्ष लखि गनगाईले नेपाल सरकारले महिलालाई विरुद्ध हुने भेदभाव उन्मूलन सम्बन्धी महासन्धि २०४८ सालमा अनुमोदन गरेको भएपनि कार्यान्वयनमा नआएको बताइन् । कानूनमा पनि महिलामाथि हुने विभेद गर्न नपाइने भए पनि व्यवहारमा कार्यान्वयनमा नआएको उनले बताइन् ।

कार्यक्रममा कार्यक्रम प्रदेश संयोजक टीका सुब्बा, निफको केन्द्रीय सचिव महिन्दा धिमाललगायतले बोलका थिए । प्रदेशस्तरी सम्वाद कार्यक्रममा प्रदेश १ को पाँच जिल्लाबाट करिब ६० जना विभिन्न जातीय सङ्घ–संस्थाका प्रतिनिधिहरू सहभागी रहेका थिए ।