धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारलाई ८ लाख घूससहित पक्राउ गरेको एक साता नबित्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानका पूर्वउपकुलपति बलभद्रप्रसाद दास (बीपी दास) सहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पूर्व उपकुलपति दाससहित पूर्व अस्पताल निर्देशक अरविन्दकुमार सिन्हा, पूर्व रजिष्ट्रार नन्दकुमार थापा र वर्तमान रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, त्यसैगरी प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, उपकरण सप्लायर्स प्रोसिजन मेडिकल प्रा.लि.र वायोमेड इन्टरनेसनल प्रा.लि.का प्रोप्राइटर चेतन अग्रवाल र सर्जिकेम डिष्टिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवालविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले सोमबार जारी गरेको विज्ञप्तिअनुसार प्रतिष्ठानका उपकुलपतिदेखि अन्य नेतृत्वतहका कर्मचारीहरूको संलग्नतामा विभिन्न विषयमा व्यापक अनियमितता भएको उजुरी परेपछि अनुसन्धान गर्दा विभिन्न उपकरण तथा सेवाको खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएकाले उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरूले प्रचलित ऐन, नियम विपरीत बदनियतपूर्वक गैरकानूनी रूपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानि नोक्सानी पु¥याई भ्रष्टाचार गरेको पुष्टि भएको पनि दाबी गरिएको छ ।

अख्तियारले प्रतिष्ठानले उपकरण तथा सेवाको खरिदमा बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक विशेषज्ञता र सोही कागजमा संलग्न खरिद सम्झौताका शर्तअनुसार काम गर्नुपर्नेमा त्यसको उल्लङ्घन गरिएको जनाएको छ ।

खरिदमा न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरूको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृति तथा सम्झौता गरी भुक्तानीसमेत दिएको अभियोग लगाइएको छ ।

आरोप पत्रमा तत्कालीन उपकुलपति दासले जम्मा चार करोड आठ लाख अन्ठान्नब्बे हजार उन्नाइस रुपैयाँ एकहत्तर पैसा, तत्कालीन अस्पताल निर्देशक सिन्हाले तीन करोड पचहत्तर लाख तीस हजार ६ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा, तत्कालीन रजिष्ट्रार थापाले एक करोड छयान्नब्बे लाख नौ हजार आठ सय असी र रजिष्ट्रार तुलबहादुर श्रेष्ठले छप्पन्न लाख सतहत्तर हजार चार सय पाँच अस्वभाविक रूपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरेको उल्लेख गरिएको छ ।

उनीहरूले प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिमको कसूर गरेको सप्रमाण पुष्टि भएको भन्दै भ्रष्टाचार बराबरको रकम बिगो कायम गरी कैद र जरिवानासहित बिगो असुल गर्न विशेष अदालतसमक्ष माग समेत गरिएको छ ।

त्यसैगरी उक्त भ्रष्टाचारमा मिलोमतो गर्ने प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहालले दुई करोड चौंतीस लाख एकासी हजार आठ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा र डेपुटी मेनेजर अमित श्रीवास्तवले एक करोड चौहत्तर लाख सोह्र हजार दुई सय अस्वभाविक रूपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरेको आरोपपत्रमा उल्लेख छ । उनीहरूलाई पनि सोही रकम बराबरको बिगोसहित कैद र जरिवाना गर्न माग दाबी गरिएको छ ।

त्यस्तै प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरी भुक्तानी लिने उपकरण सप्लार्य प्रोसिजन मेडिकल प्रा.लि.र वायोमेड इण्टरनेसनल प्रा.लि. का प्रोप्राइटर चेतन अग्रवालले एक करोड चार लाख सोह्र हजार सात सय सन्तान्नब्बे र सर्जिकेम डिष्टिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवालले साठी लाख छत्तीस हजार तीन सय त्रिचालीस हिनामिना तथा भ्रष्टाचार गरी आफूलाई फाइदा र प्रतिष्ठानलाई नोक्सानी हुने कार्य गरेकाले उनीहरूलाई पनि सोही रकम बराबरको बिगो कायम गरी जरिवाना तथा सजाय गर्न माग गरिएको छ ।

कसलाई कति बिगो ?

  • पूर्वउपकुलपति बीपी दास : चार करोड आठ लाख ९८ हजार १९ रुपैयाँ
  • अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हा : तीन करोड ७५ लाख ३० हजार ६१९ रुपैयाँ
  • तत्कालीन रजिस्ट्रार नन्दकुमार थापा : एक करोड ९६ लाख नौ हजार ८८० रुपैयाँ
  • रजिस्ट्रार तुलबहादुर श्रेष्ठ : ५६ लाख ७७ हजार
  • प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल : दुई करोड ३४ लाख ८१ हजार ८१९ रुपैयाँ
  • डेपुटी मेनेजर अमित श्रीवास्तव : एक करोड ७४ लाख १६ हजार दुई सय रुपैयाँ
  • बायोमेड इन्टरनेसनल प्रालिका प्रोप्राइटर चेतन अग्रवाल : एक करोड चार लाख १६ हजार ७८७ रुपैयाँ
  • सिर्जिकेम डिस्ट्रिब्युटर्सका प्रोप्राइटर उमेश अग्रवाल : ६० लाख ६३ हजार ३४३ रुपैयाँ