शाहिद कपुरको फिल्म ’कबीर सिंह’ यो वर्षकै सबभन्दा धेरै कमाउने फिल्म बन्ने भएको छ । रिलिजको उन्नाइसौं दिनसम्म फिल्मले दुई सय ४४ करोड भारू हाराहारी कमाइसकेको छ ।

फिल्मको कमाइले विक्की कौशलको ‘उरी’ लाई उछिन्दै सन् २०१९ मै धेरै कमाउने फिल्म बन्ने पक्का भएको बलिउड फिल्म समीक्षक तरन आदर्शले जनाए । रिलिजको तेस्रो सातासम्म पनि बक्स अफिसमा राम्रै छाप पारिरहेको ’कबीर सिंह’ ले कमाइमा नयाँ रेकर्ड राख्ने अनुमान गरिएको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार यो वर्ष सबभन्दा धेरै कमाउने फिल्म ‘उरी’ हो । यसले दुई सय ४६ करोड भारू हाराहारी कमाएको छ । तर ‘कबीर सिंह’ को रफ्तारले ‘उरी’लाई पछि पार्ने पक्का भएको छ ।

‘कबीर सिंह’ यस वर्ष सबैभन्दा चाँडो दुई सय करोड कमाउने पहिलो फिल्म पनि हो । योसँगै अहिलेसम्मै धेरै कमाउने १० हिन्दी फिल्मको सूचीमा पनि यो फिल्म परेको छ । ‘कबीर सिंह’ ले यो वर्ष सलमान खानको ‘भारत’ लाई समेत उछिनेको छ । तरन आदर्शका अनुसार कबीर सिंहले १३ औं दिनमा दुई सय कमाउँदा ‘भारत’ ले १४ औं दिन र ‘उरी’ ले २८ औं दिनमा कमाएको थियो । यसअघि सलमान खानको ‘भारत’ ले चार दिनमा सय करोड कमाएको रेकर्ड छ । रिलिजको पाँचौं दिनमै एक सय करोड कमाएको शाहिदको फिल्मले अहिले पनि राम्रो व्यापार गरिरहेको छ । ‘कबीर सिंह’ यो वर्षमै सबभन्दा धेरै ‘ओपनिङ’ कमाइ गर्ने दोस्रो फिल्म भएको छ ।

यो कमाइसँगै ‘कबीर सिंह’ शाहिदको पहिलो सोलो हिट हो । साथै फिल्म यो वर्षकै ‘नम्बर एक हिट’ सावित भएको छ । विभिन्न विवाद र आलोचनाका बाबजुद ‘कबीर सिह’ हिट हुन सफल भएको हो । फिल्ममा शाहिदको भूमिका र पेशा (चिकित्सक) सँग जोडेर केहीले आपत्ति पनि जनाए । त्यस्तै फिल्मका नायकले आफ्नी प्रेमिकाप्रति देखाएको व्यवहारबारे पनि खुबै आलोचना भयो। फिल्मका निर्देशक सन्दीप वाङ्गाले ‘प्रेममा यी कुरा जायज हुन्छ’ भन्ने खालको अभिव्यक्ति दिएपछि टिकाटिप्पणी झनै तन्किएको छ । तर फिल्मको फिल्मको व्यापारमा कुनै प्रभाव पारेन ।

धेरै वर्षदेखि बलिउडमा सक्रिय शाहिदका लागि यो फिल्म ‘टर्निङ प्वाइन्ट’ बनेको छ । ‘हैदर, कमिने, उड्ता पञ्जाब’ जस्ता फिल्ममा उनको अभिनयको खुबै तारिफ भए पनि व्यवसायिक रूपमा हिट हुन सकेका थिएनन् । दीपिका पादुकोण र रणवीर सिंहसहितको ‘पद्मावत’ हिट थियो । आफ्नो पूरा करिअरमा शाहिदको सुपर हिट सोलो फिल्म भने ‘कबीर सिंह’ नै हो । ‘कबीर सिंह’ तेलेगु फिल्म ‘अर्जुन रेड्डी’को आधिकारिक हिन्दी ‘रिमेक’ हो । फिल्ममा शाहिद कपुर र कियारा अडवाणी प्रमुख भूमिकामा छन् ।