दमक/ स्थानीय तहसँग समन्वय नै नगरी प्रदेशसभाले मनपरी तरिकाले बजेट विनियोजन गरेको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूले आक्रोस व्यक्त गरेका छन् ।

झापाको कमल गाउँपालिकाले सोमबार आर्थिक वर्ष २०७६/०७७ को नीति, कार्यक्रम तथा बजेट सार्वजनीकरण कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले प्रदेश सरकारले मनपरी तरिकाले बजेट विनियोजन गरेकोप्रति आक्रोस व्यक्त गरिन् । एक नम्बर प्रदेश सरकारले चालू आर्थिक वर्षमा यसरी लुकीछिपी जथाभावी बजेट विनियोजन गर्दा कतै आवश्यकताभन्दा बढी र कतै आवश्यकताभन्दा ज्यादै कम रकम विनियोजन गरेको उनको तर्क थियो ।

‘स्थानीय सरकारले बजेट छनोट गर्दा टोल–टोलमा पुगेर छलफल गरी अति आवश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएका छौं । तर प्रदेश सरकारले एक वचन नसोधी आफूखुशी मनपरी तरिकाले बजेट विनियोजन गरेको छ । जुन दुरुपयोग हुने धेरै सम्भावना रहेको छ’ –कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले बताइन् ।

‘एक नम्बर प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रत्यक्ष रूपमा कमल गाउँपालिकाका लागि ४ वटा मात्र योजना सञ्चालन भएका छन् । त्यो पनि मन्त्रीले आफूखुशी सीमित क्षेत्रमा विनियोजन गरेको पाइएको छ’ –अध्यक्ष काफ्लेले गुनासो गरिन् ।

यस्तै सोही कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटीले एक नम्बर प्रदेश सरकारका कारण कमल गापामा आफूखुशी योजना सञ्चालन भएको बताए । उनले भने, ‘प्रदेश सरकारको यो कार्यप्रति कमल गाउँपालिका घोर भत्र्सनासमेत गर्दछ ।’ योजना छनोट प्रक्रियामा नै नछिरिकन नै नीति नियमलाई उल्लङ्घन गरेर बजेट विनियोजन गरेको भन्दै उनले प्रदेश सरकारप्रति गुनासो गरेका छन् ।

प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/०७७ का लागि कमल गाउँपालिका–५ स्थित आदिवासी स्मृति पार्क निर्माणमा २० लाख बजेट विनियोजन गरिएको छ । यस्तै आदिवासी रङ्गशाला तथा जनजाति स्मृति पार्क निर्माण भनेर अर्को १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै कमल–६ मा डिपट्युवेल सौर्यऊर्जाबाट सिंचाइ योजनाका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । सोलार वितरणलगायतका योजनामा बजेट विनियोजन गरिएको छ । एक नम्बर प्रदेश सरकारका अर्थमन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बजेट विनियोजन गर्दा गापालाई उपेक्षा गरेको अध्यक्ष काफ्लेले बताइन् ।

कमलको नीति तथा कार्यक्रम सार्वजनिक
झापाको कमल गाउँपालिकाले सोमबार आर्थिक वर्ष २०७६/०७७ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गापाले सोमबार आर्थिक वर्ष २०७६/०७७ का लागि ६२ करोड २९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

नीति, कार्यक्रम तथा बजेट सार्वजनीकरण कार्यक्रममा एक नम्बर प्रदेशका प्रदेश सभासद् अर्जुन राईले बजेट किताब सार्वजनिक गरेका हुन् । कमल गापा नीति, योजना तथा बजेट किताबमा उल्लेख भएअनुसार चालू खर्चतर्फ ५ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा ‘कृषिको विकास कमल गापाको निकास’ भन्ने आकर्षक नारासहित कृषिलाई प्राथमिकता दिएको छ । यस्तै पशु र सहकारी उद्योग खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता विषयलाई महŒवका साथ बजेट विनियोजन गरिएको बताउँदै अध्यक्ष काफ्लेले बजेट विनियोजनका विषयमा प्रष्ट पारेकी थिइन् ।