विराटनगर/ युवाहरूलाई कुलतमा फस्न नदिन र नैतिक शिक्षा दिलाई समाजिक उत्तरदायित्व बोध गराउने उद्देश्यले १ नम्बर प्रदेश सरकारले ‘म अघि बढ्छु’ कार्यक्रम शुरु गरेको छ ।

विद्यालयस्तरमै लागूऔषध प्रयोग र यसले पार्न सक्ने दूरगामी प्रभावबारे विद्यार्थीमा सचेतनासहितको उक्त कार्यक्रम शुरुवात गर्ने भएको हो । खासगरी ‘टिनएजर्स’ विद्यार्थीलाई कुलतमा फस्न नदिन प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘म अघि बढछु’ कार्यक्रम गर्नेछ ।

प्रदेशका १४ वटै जिल्लामा सञ्चालित कार्यक्रमले दुई हजार विद्यालयलका दुई लाख विद्यार्थीलाई समेट्ने लक्ष्य लिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले ग्रामीण र शहरी क्षेत्रका धेरै परिवार लागूऔषध दुव्र्यसनका कारण निकै सङ्कटमा परेकोले सचेतामूलक कार्यक्रम शुरुवात गरेको बताए ।

‘पढ्ने उमेरका विद्यार्थी नै यसको प्रयोगको अधिक जोखिममा रहेकोले ग्रामीण भेगसम्म पु¥याउने गरी कार्यक्रमको स्वरूप तयार गरेका हौं,’ मन्त्री कार्कीले भने । ‘म अघि बढ्छु’ कार्यक्रम सरकारकै पहलकदमीमा गठन भएका सगरमाथा टिन्स क्लबमार्फत् सञ्चालन गरिने जानकारी उनले दिए । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारले गर्ने कार्यक्रम, यसमा सहभागी पक्ष र प्रभावकारिताबारे स्पष्ट गरेको छ ।

मन्त्री कार्कीका अनुसार विद्यालय र विद्यार्थीलाई लक्षित गरिएको कार्यक्रम सञ्चालन गर्न प्रदेशका १४ वटै जिल्लामा मुख्य प्रशिक्षक परिचालन गरिएको छ । उनीहरूले हरेक विद्यालयलाई लक्षित गरी लागूऔषध प्रयोग, यसको जोखिम, प्रभाव र सामाजिक रूपमा पार्न सक्ने खतराबारे सचेतना दिनेछन् ।

उनीहरू सबै स्वयम्सेवकका रूपमा नियुक्त भएको बताइएको छ । ‘सचेतना कार्यक्रममा विद्यालयमा लागूऔषधबारे एउटा छुट्टै कक्षा सञ्चालन गरिने छ, उनले भने, ‘विपद्को जोखिम र यसबाट बच्ने उपायबारे पनि शिक्षा दिइने छ ।’

सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममार्फत् यो कार्यक्रम अघि सारेको हो । यसका लागि दुई करोड ५० लाख बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि बजेट थप गरी पाँच करोड ४६ लाख रुपैयाँ पु¥याइएको मन्त्री कार्कीले जानकारी दिए ।

प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यविधिसमेत तयार गरेको छ । कार्यक्रमअन्तर्गत कक्षा ९ देखि १२ सम्म अध्ययनरत १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई जिम्मेवार, चरित्रवान, सभ्य, सिर्जनशील बनाउँदै सामाजिक उत्तरदायी र समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने लक्ष्य लिइएको मन्त्रालयका सचिव भरतमणि रिजालले जानकारी दिए ।