धरान । धरानबाट स्कुटर चोर्न खोज्ने एक युवा पक्राउ परेका छन् ।
केहीदिन अघि धरान १५ स्थित ब्लाष्ट टाइम्स दैनिकको कार्यालयको बाहिर राखिएको स्कुटर चोर्ने प्रयास गरेको आरोपमा धरान ८ सिदार्थमार्गका ३३ वर्षीय नविन राईलाई मंगलबार इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

राती १ बजेको समयमा राईले ब्लाष्ट कार्यालयको बाहिरपटि राखिएको स्कुटर चोरेर लैजान कोसिस गरेपनि ह्यान्डिल लक भएका कारण उनले स्कुटर भने लान पाएनन् । लामो समय ह्यान्डिल लक भाँच्न र गुडाएर लान खोजेपनि नसकेपछि उनि फर्किएको सिसिटिभी फुटेजमा देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

पक्राउ परेका राईले आफु रत्नचोकमा लोकल रक्सि र वियरले मातेर हिडेकाले चोरी गरेको आफुलाई केही थाहा नभएको बताएका छन् । उनले सिसिटिभीमा देखिएको चोरी गर्न खोज्ने व्यक्ति भने आफु नै भएको स्विकार गरे ।

प्रहरीका अनुसार राई चार वर्ष साउदी अरब बसेर फर्केका हुन् । एसएलसी सम्म अध्ययन गरेर विदेश गएका उनले विवाह भएपनि सम्बन्ध विच्छेद भएको बताएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले सिसिटिभीको फुटेज र राईको बयानका आधारमा चोरी गर्ने नियत देखिएको बताए । उनले चोरी उद्योगमा कारबाही चलाउने बताए ।