धरान/ धरान–४, १५ र १७ नम्बर वडा एकसाथ मङ्गलबार बालमैत्री वडा घोषित भएका छन् ।

बालमैत्री स्थानीय शासनका ३९ वटा सूचकमध्ये अधिकांश सूचक पूरा गरेको भन्दै बालमैत्री वडा घोषणा गरिएको हो । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले ती वडाहरूलाई बालमैत्री वडा घोषणा गरे ।

१५ नम्बर वडाले ३९ सूचकमध्ये ३६ वटा शतप्रतिशत पूरा गरेको छ भने ३ वटा सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरिसकेको वडाध्यक्ष नरेश इवारमले जानकारी दिए ।

वडा नम्बर ४ ले ३९ सूचकमध्ये ३१ वटामा शतप्रतिशत र बाँकी सूचक पूरा गर्न केही समय लाग्ने बताएको छ । सभामुख भण्डारीले बाँकी रहेका सूचकलाई पनि तत्कालै पूरा गर्दै पूर्ण बालमैत्री वडा बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा धरान उपमहानगरकी कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारी सुवेदी, जिल्ला समन्वय समितिका उपाध्यक्ष विष्णुकुमारी विकलगायतको उपस्थितिमा बालमैत्री वडा घोषणा गरिएको हो । नियमअनुसार २०७५ सालभित्रै बालमैत्री वडा घोषणा गरिसक्नु पर्ने हो । धरानमा अझै थुप्रै वडा बालमैत्री घोषणा हुन बाँकी छन् ।