धरान/ धरान रङ्गशालामा मङ्गलबार सम्पन्न मुख्यमन्त्री कप प्रदेश लिगको उपाधि झापाले उचालेको छ । मोरङ विरुद्ध २–१ गोल गर्दै झापा प्रदेश लिग च्याम्पियन बनेको हो ।

धरान रङ्गशालामा भएको खेलमा प्रदेश लिगको च्याम्पियन भएसँगै झापाले नगद ५ लाख रुपैयाँ, ट्रफी र प्रमाण–पत्र हात पार्यो । लिग उपविजेतामा चित्त बुझाएको मोरङले नगद ३ लाख रुपैयाँ हात पार्यो ।

झापालाई प्रदेश लिग च्याम्पियन बनाउन खेल शुरु भएको पहिलो मिनेटमा रेजिन माझी र खेलको ८७ औं मिनेटमा विकेस सुब्बाले गोल गरेका थिए । मोरङका सौरभ कार्कीले खेलको ५२ औं मिनेटमा पाएको कर्नर प्रहारबाट सान्त्वना गोल गरेका थिए ।

विजेताहरूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ट्रफी, पुरस्कार तथा प्रमाण–पत्र वितरण गरेका थिए । समापन खेलमा सर्वोत्कृष्ट खेलाडी मोरङका भूषण सुब्बा भए । उनले नगद १ लाख रुपैयाँ प्राप्त गरे । खेलका म्यान अफ द म्याच मोरङका सौरभ कार्की भए । उनले नगद १० हजार हात पारे ।

बेस्ट गोलरक्षक झापाका मनोज प्रधान, बेस्ट डिफेन्स झापाका विमानप्रसाद राई, बेस्ट मिडफिल्डर सुनसरीका उमेश राई, बेस्ट स्ट्राइकर झापाका विकेश लिम्बू, बेस्ट कोच झापाका प्रवेश कट्वाल घोषित भए ।

उनीहरूले जनही नगद २५ हजार प्राप्त गरे । उक्त अवसरमा भारतीय टेलिभिजन जी–टिभीबाट प्रसारित रियालिटी शो सारेगमपका सेकण्ड रनरअप विजेता इटहरीका प्रितम आचार्यलाई प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।