बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भ्रष्टाचार हुने गरेको चर्चा निक्कै पुरानो हो । तर यसपटक प्रतिष्ठानका बहालवाला उपकुलपति नै घुस रकमसहित पक्राउ परे भने पूर्व उपकुलपतिसहितका पदाधिकारी, बहालवाला कर्मचारी र उनीहरुसँग मिलेमतो गर्ने ठेकेदारहरुमाथि समेत विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर भएको छ । भ्रष्टाचार मुद्धामा प्रतिष्ठानका पदाधिकारी, कर्मचारी नै मुछिएपछि एक खालको तरङ्ग उत्पन्न भएको छ । लामो समयदेखि पदाधिकारीबीचको आपसी खिचातानीका कारण प्रतिष्ठान भित्रभित्र खोक्रो बनिरहेको छ । समस्यै समस्याको थुप्रो छ प्रतिष्ठानभित्र । भौतिक पूर्वाधारका हिसाबले देशकै उत्कृष्ट अस्पताल भन्ने गरिएको प्रतिष्ठानमा आन्तरिक समस्याको चाङ छ । प्रतिष्ठान अस्वस्थ राजनीतिको पनि सिकार बनेको छ । राजनीतिक दलको आशीर्वादमा पदाधिकारी बनेकाहरु बीच सम्बन्ध राम्रो छैन भने कर्मचारीहरुमा पनि त्यही रोग छ । कर्मचारीहरु नै प्रष्ट रुपमा दुई गुट छन् । उनीहरुको विवादका कारण प्रतिष्ठानमा झनै समस्या बढ्दो छ ।

यो प्रतिष्ठानको निक्कै पुरानो रोग हो, यहाँका उपकरणहरु प्रायः बिग्रिरहेका हुन्छन् । उपचारका लागि टाढादेखि आउने बिरामीहरुले चर्को दुःख पाउने गरेका छन् । पहिला प्रतिष्ठानमा बाहिरी ठेकेदारले फार्मेसी सञ्चालन गर्दा खोजेको औषधी प्रतिष्ठान भित्रै पाइन्थ्यो । तर प्रतिष्ठान आफैँले फार्मेसी सञ्चालन गर्न थाल्यो । अहिले प्रतिष्ठानका फार्मेसीमा विरामीले खोजेको औषधी पाउँदैनन् । यो विषयमा पनि छानबिन गरिनु आवश्यक छ । सरकारको योजना अनुसारको बिमा कार्यक्रम प्रतिष्ठानले पनि लागु गरेको छ । तर बिमा कार्यक्रम अन्तर्गत उपचार गराउन प्रतिष्ठान पुग्ने बिरामीले सरकारले तोकेको निशुल्क औषधी समेत पाउँदैनन् । सुविधाभन्दा बढी कष्ट सहनुपर्छ बिरामीले । उपचार गराउनका लागि सोर्सफोर्स लगाउनु पर्ने अवस्था छ । प्रतिष्ठानले दैनिक रुपमा यसरी विश्वास गुमाउँदै जानु दुःखद अवस्था हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गर्नेहरुलाई अदालतसम्म पु¥याएको छ । अब प्रतिष्ठानका अन्य समस्याका विषयमा पनि छानबिन हुनु आवश्यक छ ।

केही स्वार्थी र लोभीपापी व्यक्तिहरुका कारण प्रतिष्ठान धरासायी अवस्थामा पुगेको छ । प्रतिष्ठानलाई जीर्ण अवस्थामा पु¥याउनेहरु अरु पनि हुन सक्छन् । उनीहरुको पनि खोजी गरी उचित छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनु आवश्यक छ । प्रतिष्ठानको गरिमा बचाउन धरानवासी सामु चुनौति थपिएको अवस्था छ । प्रतिष्ठान धरासायी हुनु भनेको धरानलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ठूलो असर पर्नु हो । धरासायी अवस्थामा पुगेको प्रतिष्ठान बचाउन धरानवासी पनि जागरुक हुने बेला आएको छ । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रसँग सम्बद्ध प्रतिष्ठानमा देखिएको यस्तो अराजक र भ्रष्ट गतिविधिले सम्पूर्ण नेपाली जनतालाई आहत तुल्याएको छ । यस्ता गतिविधि कम गर्दै लैजान दोषीलाई कडा कारबाही गर्न त जरुरी छ नै, भविष्यमा पुनः दोहोरिन नदिन कानूनी व्यवस्थामा आवश्यक कडाइ गर्न पनि जरुरी देखिन्छ । साथै विश्वविद्यालयमा दूरदर्शी नेतृत्व चयन गर्दा पनि विचार पुर्याउन आवश्यक छ ।