पथरीशनिश्चरे नगरमा ‘वन पर्यटकीय स्थल’ विकाश

alt
  • श्रावण १, २०७६
  • २४० पटक पढिएको
  • दिनेश सुब्बा

पर्यटक भन्ने शब्द सन् १७७२ मा र ‘पर्यटन’ भन्ने शब्द सन् १८११ मा प्रयोग भएको पाइन्छ । फुर्सदको समय पर्यटकका रूपमा बाहिरी वातावरणमा बिताउने प्रचलन पश्चिमा देशहरूमा औद्योगिक क्रान्तिपछि शुरु भएको हो र यसैको क्रम बढ्दै गएर पर्यटन एउटा विशाल उद्योगको रूपमा विकसित हुँदै गएको छ । नेपालको सन्दर्भमा पर्यटनको इतिहास लामो नभए तापनि आज पर्यटन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अङ्ग र प्राथमिकताको क्षेत्र बनिसकेको छ ।

नेपालमा प्राकृतिक सांस्कृतिक धार्मिक खेलकुद स्वास्थ्य तथा मनोरञ्जन पर्यटन आदिको उत्तिकै सम्भावना भए पनि विगतका गतिविधिलाई हेर्दा नेपाललाई साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य स्थल मानिएको छ । नेपालको धरातलीय तथा जलवायुजन्य विविधताले साहसिक तथा मनोरञ्जनात्मक र प्राकृतिक पर्यटनलाई आकर्षक बनाएको छ । त्यसैले पर्यटन उद्योगको सन्तुलित व्यवस्थापनका लागि यस क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार उपयोगी र प्रभावकारी कार्यक्रम तथा रणनीति तय गरी सरकारी र नीजि क्षेत्र एक भई दृढताका साथ पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा अघि बढ्नु आजको अनिवार्य आवश्यकता बनेको छ ।

पछिल्लो समयमा पश्चिमी मुलुकको सिकोलाई नेपालले क्रमश ग्रहण गर्दै आएको छ । मानव सभ्यताको विकास सँगसगै देश विकासको क्रममा अहिले नेपालमा पनि सरकारी क्षेत्रमा र नीजि क्षेत्रमा पर्यटन व्यवसाय व्यावसायिक रूपमा अनगिन्ती फस्टाउँदै आएको छ । वनभोज, पारिवारिक घुमफिर, शैक्षिक, संस्थागत घुमफिरको कारण पछिल्लो समयमा पर्यटन क्षेत्रमा गतिविधिको चाप रहेको पाइन्छ ।

यसैक्रममा मोरङको पूर्वी क्षेत्रका सामुदायिक वनहरूले आफ्नाे क्षेत्रभित्र स–सानो खोला भएको ठाउँ तथा सिमसार क्षेत्रलाई पर्यटन क्षेत्रको रूपमा विकास गरेर आर्थिक आर्जन गर्ने क्रममा छ । त्यसो त खोलाको छेउ भएको जग्गा खरिद गरी नीजि लगानीमा पनि आन्तरिक पर्यटन लोभ्याउने गन्तव्य बनाई आर्थिक आयआर्जन गर्र्नेहरूको पनि लर्को उत्तिकै छ । लगानीको हिसाबले सामुदायिक वनहरूले शुरु गरेको पर्यटन व्यवसाय अलिक फरक छ । सामुदायिक वनको पर्यटन व्यवसायमा वन उपभोक्ता समिति र नेपाल सरकारको लगानी भएको पाइन्छ । त्यसले गर्दा वन पर्यटनमा भने प्रचार प्रसार कम भएको पाइन्छ । पर्यटक आए पनि ठिकै, नआए पनि ठिकै भन्ने तरिकारले चलेको छ ।

वन पर्यटनमध्ये अहिले मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रको ५ वटा सामुदायि वनहरू पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न लागि परेका छन् । शान्ति सामुदायिक वन, सिरिजङ्घा धार्मिक वन, हरियाली सामुदायिक वन, मनकामना सामुदायिक वन र पशुपति सामुदायिक वनहरू आफ्नो क्षेत्रमा पर्यटन गन्तव्य निर्माणमा अघि बढेका छन् । अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय÷बहुभाषिक सामाजिक विविधता तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण पथरीशनिश्चरेको वनक्षेत्रमा पर्यटन व्यवसायको सम्भावना पनि उत्तिकै रहेको छ ।

भुल्के सिमसार क्षेत्र :
पथरीशनिश्चरे–१ मा रहेको शान्ति सामुदायिक वन समितिले यस क्षत्रको पहिलो वन पर्यटनको ‘भुल्के सिमसार’ नामकरण गरी पर्यटकीय क्षेत्र वनाउने अवधारणासहित अघि बढेको थियो । गत वर्ष उद्घाटन गरिएको ‘भुल्के सिमसार’ अहिले वनको राम्रो आम्दानीको स्रोत बनेको छ । अहिले मासिक १ लाख रुपैयाँ आम्दानी हँुदै आएको उपाध्यक्ष हेमभक्त तमुले बताए । एकजना प्रवेश गरेको शुल्क २० रुपैयाँ, बोटिङ् गरेको ५० रुपैयाँ लिने गरेको छ । विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहने ‘भुल्के सिमसार’ मा पर्वको दिन दैनिक ५० हजार पनि उठ्ने गरेको उपाध्यक्ष तमुले बताए ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत पथरीबजारबाट उत्तर देखिएको जङ्गललाई शान्ति सामुदायिक वनले ओगटेको छ । सडकदेखि दुईसय मिटर उत्तरमा ‘भुल्के सिमसार’ निर्माणाधीन रहेको छ । अहिले साना ठूला गरेर सिमसार क्षेत्रभित्र ४ वटा पोखरी निर्माण गरिसकेको छ । एउटा ठूलो पोखरीमा ४ वटा नाउ लगाएर पर्यटकको मन खिचेको छ । निर्माण समितिले तत्काल ‘बाल उद्यान’को पनि निर्माणको तयारी रहेको छ । ‘बाल उद्यान’ निर्माण पछि आन्तरिक पर्यकको भीड हुने निर्माण समितिको अपेक्षा छ । ‘बाल उद्यान’ को लागि ५४ लाख १५ हजार रकम विनियोजित गरी ४ कट्ठा जग्गामा निर्माण काम शुरु गरेको छ । ‘भुल्के सिमसार’ क्षेत्र निर्माणको लागि विभिन्न स्थानबाट रकम सहयोगका रूपमा आएको छ ।

१) राष्ट्रपति चुरे संरक्षण परियोजनाबाट १० लाख ।
२) डिभिजन वन कार्यालय मोरङबाट ५ लाख ।
३) जलाधार व्यावस्थापन कार्यक्रम कार्यान्वयन
इकाई प्रदेश नं. १ बाट ५ लाख ।
४) पथरीशनिश्चरे साझेदारी वनबाट ३ लाख
६ ५हजार ।
५) पथरीशनिश्चरे नगरपालिकाबाट २५ हजार ।

शान्ति सामुदायिक वनको १७८.९२ हेक्टर मध्ये ३ हेक्टरमा पर्यटकीय स्थलको रूपमा विकास अघि बढाएको छ । वन समितिले मात्र पर्यटक भिœयाउन अहिले १ करोडभन्दा माथि खर्च गरिसकेको छ । अहिले आन्तरिक तथा बाह्य पर्यटकको मनै लोभ्याउने वातावरणसहितका कामहरू भैरहेका छन् ।

दुईवटा वनभोज खाने ठूला कटेरा, मुख्य आर्कषणको रूपमा पोखरीको बीचमा ५० मिटरको गोलाइ भएको टापु, टिकट घर, गेट पालेघर, सानो गेट, बोटिङ स्टेन,तिनकोठे शौचालय, ओभरहेड डयाम लगाएतका पूर्वाधारहरू निर्माण भइसकेका छन् । वनभोज खान र घुमेर मनोरञ्जन लिनको लागि मोरङ पूर्वीको नमुना गन्तव्य बनाउने शान्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केवी गुरुङ बताउँछन् । पर्यटकीय स्थल ‘भुल्के सिमसार’ पूर्वपश्चिम राजमार्ग पथरीबजार देखि दुई सय मिटर उत्तरमा रहेको छ ।

२०७२ सालदेखि सुरु गरेको पर्यटक क्षेत्रको वरिपरी घेराबारा, पाहुना घर, सभाहल, र पोखरी वरीपरि तार जाली लगाउने योजना रहेको छ । वन समूहले भुल्के सिमसार प्रवेश गर्ने आकर्षक प्रवेशद्वार निर्माण गर्नुका साथै प्रवेशद्वारदेखि पोखरीसम्म आकर्षक पार्क निर्माण गरेको छ । प्रवेशद्वारदेखि पोखरीसम्म जानकालागि फराकीलो बाटोमा इन्टरलक ब्लकलगाएर बाटोको दुवैतर्फ गार्डेन र त्यसभित्र स्ट्याचु निर्माणका लागि बेस निर्माण गरिएको छ ।

त्यसैगरी पोखरीमा बीचमा रहेको टापुमा रेस्टुरेण्ट निर्माण गरी बोटिङ्बाट रेस्टुरेण्ट जाने वनको योजना रहेको छ । जरुवा पानी नियमित उम्रने पोखरीमा ७ फुट गहिरो बनाएर पानी जमाएर विभिन्न जातका माछाहरू लगाएको छ । भुल्केको मुल प्रवेशद्वारमै कलात्मक चित्र कोरिएको छ । गेट र भित्रपट्टि पानीका फोहराले थप आर्कषण दिएको छ । भुल्के सिमसार अवलोकन गर्न आउनेको सुविधाका लागि खाने पानी, शौचालय र वाथरुमको व्यवस्था निर्माण समितिले गरेको छ । घुम्न आउनेको सुविधाका लागि विभिन्न स्थानमा बस्ने मेचको पनि सुविधा राखिएको छ । वन समितिले वनभोज खान आउनेको लागि दाउरासमेत दिने व्यवस्था गरेको छ ।

पोखरीमा बोटिङ्गको सुविधा, शान्तवातावरणमा बस्ने ठाउँ भएकोले अहिले यस क्षेत्रमा युगल जोडीको आएर बस्ने, घुमफिर गर्ने राम्रो स्थान बन्दै आएको छ । सुरक्षाको हिसावले पर्यटकीय क्षेत्रभित्र तारको घेराबार,नजिकै इलाका प्रहरी कार्यालय पथरी, इलाका टूाफिक प्रहरी नजिकै रहेको छ । सिमसार क्षेत्रमा ३ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । सामुदायिक वनको क्षेत्रलाइ पनि राम्रो आम्दानीको स्रोत बनाउन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने राम्रो उदाहरण भुल्के सिमसारले दिएको छ ।

पर्यटकीय स्थल ‘सिरिजङ्घा धार्मिक वन’
पथरीशनिश्चरेस्थित–१ र १० को सिमानामा रहेको सिरिजङ्घा स्मृति धार्मिक वन पनि पर्यटनको लागि सुरक्षित गन्तव्यको रूपमा परिचित हुँर्दै आएको छ । अन्य वन पर्यटनमध्ये यो सिरिजङ्घा स्मृति धार्मिक वन भने अलिक फरक रहेको छ । यो क्षेत्र खाली जग्गामा २०६२ साल असोज ३० गतेमा विभिन्न जातका रुखविरुवा रोपेर संरक्षण गरी वन पर्यटन क्षेत्र बनाइएको हो । पूर्वमा पथरी बजार र पश्चिममा भुटानी शरणार्थी शिविरको पूर्वपश्चिम राजमार्गले छोएको बीच भागमा रहेको १५.२१ हेक्टर जमिन धार्मिक एवं पर्यटकीय स्थलको रूपमा विकास भइरहेको छ ।

बग्दै गरेको पानीको स्रोतलाई जोगाउँदै पोखरी निर्माण गरेर वनलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले कार्यक्रम शुरु गरेको सिरिजङ्घा धार्मिक वन युवा कार्यसमितिका अध्यक्ष टिकेन्द्र लिवाङ लिम्बूले बताए । सो क्षेत्र केही भाग डाँडा र धेरै भाग प्राकृतिक रूपमा खाल्डो भएकाले सो खाल्डो भएको जमिन मिलाई डाँडा र खाल्डो जमिनको डिपिआर गरी योजना बनाई अबका दिनमा अघि बढ्ने अध्यक्ष लिम्बू बताउँछन् । विभिन्न माध्यमबाट आय स्रोत जुटाई पूर्वपश्मिको मुख्य सडकबाट देखिने क्षेत्रमा बोटिङको व्यवस्था गर्दै स्वीमिङ पुल, पाहुनाघर, पार्क, कबड हल, भलिबल कोट,सभाहल,मठमन्दिर लगाएत निर्माण गर्ने योजना रहेको धार्मिक वन समिति बताउँछन् ।

अहिले प्रवेशद्व्रार, सिरिजङ्घाको ठूलो सालिक, ठूलो पोखरी र विभिन्न ठाउँमा विश्राम गर्ने स्थल लगायत बनिसकेका छन् । त्यसले गर्दा पनि अहिले एकान्तमा बस्नको लागि युगल जोडी पनि रमाउन दैनिक आउने गरेको पाइन्छ । सबै स्थानमा कटुस, रक्तचन्दन, रुद्राक्ष, आँप, लिचि, टिक लगायतको विरुवाहरूले दृश्य रमणीय देखिने गरेको छ । यस रमणीय स्थलमा घुम्न आउने, सुटिङ र फोटो सुटको लागि पनि उतिकै पर्यटक आउने गरेको अध्यक्ष लिम्बू बताउँछन् ।

पर्यटकीय स्थल ‘बाघे सिमसार’
अर्को पर्यटकीय स्थलका रूपमा बाघे सिमसारको पर्यटन विकास शुरु गरिएको छ । पथरीशनिश्चरे–१० कै पशुपति सामुदायिक वन उपभोक्ता समूहले ‘बाघे सिमसार’को संरक्षण र प्रवद्र्धन शुरु गरेको हो । पूर्वपश्चिम राजमार्ग सडक तथा भूटानी शरणार्थी शिविर उत्तरको वनभित्र रहेको सिमसार क्षेत्रको सरसफाई गरी पोखरी निर्माण गर्ने काम थालिएको समूहकी सचिव मैना आचार्यले बताइन् । पोखरी निर्माण गरेपछि सुक्न लागेको सिमसारको संरक्षणमात्र नभई वन्यजन्तु एवम् चराहरू पानी खान लागि सुविधा हुनुका सार्थ यस्तो निर्माणले बाह्य र साथसाथै आन्तरिक पर्यटकहरूलाई लोभ्याउने उनको तर्क छ ।

२०७४ सालबाट वन उपभोक्ताको रकम ५ लाखको खर्चमा लगभग ३ विगाहको एउटा ठूलो पोखरी सरसफाई गरिएको थियो । २०७६ मा नगरपालिकाको ५ लाखले पूर्वपश्चिम राजमार्ग सडक सँगै जोडिएको पोखरी सरसफाई सम्पन्न गरेको छ । २०७५ सालमा सिमसार संरक्षण र प्रवद्र्धन लागि १० लाख रकम छुट्याए पनि काम गर्न नसकिएको सचिव आचार्य बताउँछिन् ।

सिमसार संरक्षण र प्रवद्र्धन लागि डिपिआर गरिसकेकाले यस पटक ठूलो रकम विनियोजन गरी काम अघि बढाउने वन समितिले जनाए । यसमा साना ठूला गरेर जम्मा ५ वटा प्राकृतिक पोखरी रहेका छन् । वनको २ सय ७६ हेक्टर क्षेत्रफलमध्ये १८ हेक्टर क्षेत्रलाई पर्यटन व्यवसायको लागि वन उपभोक्ता समितिले सिमसार क्षेत्रको अवधारण लिएर अघि बढेको छ ।

पर्यटकीय स्थल ‘हरियाली वन’
आन्तरिक पर्यटक तान्न हरियाली सामुदायिक वन उपभोक्ता समूहले ‘स्वीमिङ पुल’को अवधारणा लिएर पर्यटन क्षेत्रको शुरुवात गरेको छ । परीशनिश्चरे–२, मा रहेको सामुदायिक वनले पूर्वपश्चि राजमार्गको उत्तरमा रहेको वनको कार्यालय सँगै स्वीमिङ पुल निर्माण थालिएको छ । २४५.९४ हेक्टर क्षेत्र संरक्षण गरेको वनले खाली रहेको लगभग ५ कट्ठा जग्गामा ‘स्वीमिङ पुल’ निर्माण थालनी गरेको हो ।

‘स्वीमिङ पुल’ निर्माणको लागि आर्थिक वर्ष २०७५÷०७६ मा ३ लाख रकम वनले विनियोजन गरेको थियो । अहिले आधा काम सकिएको छ । १५ लाख खर्च भैसकेको वनको अध्यक्ष काबुलबहादुर मगरले बताए । त्यसैगरी अर्को आर्कषणको रूपमा रहेको सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

त्यस भवनलाई वन समितिले आर्थिक वर्ष २०७५÷०७६ मा ३१ लख,४ हजार, ५सय ९३ रुपैयाँ छुट्याएको थियो । वन समितिले यस पटक सामुदायिक भवन निर्माण सम्पन्न गरिने योजना रहेको अध्यक्ष मगरले बताए । त्यसैगरी वन समितिले रमणीय पार्कको पनि निर्माणको तयारी गरेको छ । निर्माणाधीन स्वीमिङ पुलको वरीपरि वनको खाली जग्गामा रमणीय पार्क निर्माण गरिने भएको हो ।

पर्यटकीय क्षेत्र ‘मनकामना सिमसार’
त्यस्तै पथरीशनिश्चरे नगरपालिका–१,मै रहेको ‘मनकामना सिमसार’ पनि पर्यटकीय गन्तव्य रूपमा अघि बढेको छ । मनकामना सामुदायिक वन उपभोक्ता समितिले पानी जरुवा उम्रने भागलाई समेटेर पर्यटकीय गन्तव्य बनाउन लागि परेका छन् । पर्यटकीय गन्तव्य निर्माणका लागि वन समितिले २४ लाख खर्च गरिसकेको छ ।

उत्तरपटि सानो पोखरी, दक्षिणमा ठूलो पोखरी पुल र बस्ने चौतारी सहित निर्माण गरिसकेको छ । वनको सिमसार युक्त १० हेक्टर क्षेत्रमा पर्यटन व्यवसायको योजना बनाएको वनका अध्यक्ष उदयकुमार राईले बताए । पथरीशनिश्चरे नगरको सबैभन्दा सानो वन भनेर चिनिने वनको कुल क्षेत्रफल ७१.६९ हेक्टर रहेको छ ।

उत्तरमा रहेको सानो पोखरीको पूर्वभागमा रहेको मधेशमा लोपोन्मुख जातका बिरुवा कटुसको बोटको वरिपरि ब्लक इटा लगाएर बस्ने ठाउँ निर्माण गरिएको छ । जहाँ पथरीबासी गर्मीमा बदाम, चटपटे, चिप्स लगायतको खानेकुरा खाएर सितल ताप्ने गरेका छन् । वनले मिनि जू पनि सञ्चालनमा ल्याएको छ । मृग, हरिण, खरायो लगायतका वन्यजन्तु पालेर राखेको छ ।

अहिले पथरीशनिश्चरे नगरपालिकाले पथरीको पर्यटन विकासको लागि आर्थिक वर्ष २०७६/०७७ मा २५ लाख विनियोजन गरेको छ । यस नगरमा पर्यटनको ठूलो संभावना भएको ठाउँ हो । संभावित ठाउँलाई पर्यटकीय स्थलको रूपमा विकास गरी आन्तरी र बाह्य पर्यटक भित्र्याएर आर्थिक आर्जन गर्ने पक्षमा नगरपालिका लागेको उपप्रमुख यामुना विष्ट बास्तोला बताउँछिन् । यसरी हरेक सिमसारलाई आय आर्जनसँग जोडेर संरक्षण गर्दै जाने हो भने जैविक विविधता संरक्षण हुनुका साथै पानी संरक्षण गरेर सिंचाइमा समेत प्रयोग गर्न सके आम्दानी बढ्ने संभावना रहेको छ ।

सुझाव :
नेपालमा दिगो पर्यटन अवधारणामा मात्र सीमित रहेको छ । व्यापक अनुसन्धानको कमी र नीतिगत स्पष्टताको अभावमा पर्यटन क्षेत्रको विकासमा उल्लेख्य प्रगति हुन नसकेको हो । हाम्रा पर्यटन क्षेत्रका विशेषताहरूमा अनुपम प्रकृति, जीवन्त संस्कृति र साहसिक क्रियाकलाप आदि पर्दछन् ।

यसका लागि हामीले कुशल तथा सुरक्षित यातायात, भौतिक पूर्वाधार निर्माण, पर्यटन क्षेत्रको विविधीकरण र बजारीकरणको आधुनिक व्यवस्था, स्पष्ट र विश्वसनीय जानकारी आदिको व्यवस्था गरी दिगो पर्यटनको लक्ष्य हासिल गर्न सकिन्छ । वास्तवमा दिगो पर्यटनका लागि पर्यटकहरूको आवागमन नै महत्वपूर्ण हुन जाने भएकाले कस्ता खालका पर्यटक चाहिएका हुन् ? धेरै खर्चिने वा धेरै दिनसम्म रहने? स्पष्ट हुनुपर्दछ । दिगो पर्यटनले मूर्तता पाउने खालका पर्यापर्यटन, प्रकृति, सिमसार,नदीनाला लगायतको संरक्षण हुनु जरुरी छ ।

पर्यटन व्यवसाय आम नागरिकको जीविकोपार्जन र रोजगारीको अवसरसमेत भएकोले यसको विकासमा जोड दिनु अपरिहार्य भएको छ । पर्यटन सेवाबाट प्राप्त हुने लाभ स्थानीय समुदाय र जनतामा पुर्याउन नयाँ पर्यटनस्थलको खोजी, पर्यटन पूर्वाधार विकास, पर्यटकलाई उपलब्ध गराउने सेवाको गुणस्तरमा वृद्धि, सुरक्षित गन्तव्य, बसाइको अवधि लामो बनाउने जस्ता विभिन्न पक्षलाई समेटेर दीर्घकालीन नीति अवलम्बन गर्नु जरुरी देखिन्छ । स्वदेशी तथा विदेशी मुद्राको आर्जन, रोजगारीका अवसरको बृद्धि संगसंगै जनताको जीवनस्तरमा सुधार गरी पर्यटनलाई आर्थिक विकाससँग आबद्ध गर्दै लैजानुपर्दछ ।

गाेपाल गुप्ता स्मृति

धरान । धरानमा प्रदेश १ स्तरीय गोपाल गुप्ता स्मृति ब्याड

विष्णु मेमोरियलका प

धरान । विष्णु मेमोरियल स्कुलबाट हालै उर्तीण भएका प्रतीक

बाँसघारीमा लगेर दुई

विराटनगर /  मोरङको बुढीगंगा गाउँपालिका – ४ प

को २ च १०२१ नं. को क

धरान  / कारभित्र लुकाई लागु औषध ल्याउदैं गर्द


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved