धरान  / सर्पदंशको प्रकोप बढिरहेको बेला प्रदेश नं. १ स्तरीय शिक्षा तालिम केन्द्र इनरुवाले शिक्षकहरुलाई तालिम प्याकेजमा सर्पदंश सम्बन्धी नयाँ विषयवस्तु समावेश गरी तालिम दिएको छ । साविकका विषयवस्तुहरुलाई निरन्तरता दिइरहे तापनि यस पटक माध्यमिक विद्यालय तहका सामाजिक विषयको तालिम प्याकेजमा सर्पदंश सम्बन्धी विषयवस्तु समेटिएको तालिम प्रमुख राजेन्द्र बुढाथोकीले बताए ।
सामाजिक विषयले विविध विषयहरुलाई समेट्ने भएकोले अहिले सर्पदंशको मौसम भएकोले यस विधामा तालिम आवश्यक भएको ठहर गरी विशेषज्ञहरु मार्फत् सचेतना तालिम दिइएको प्रमुख बुढाथोकीले जानकारी दिए ।
सर्पदंश सम्बन्धी विज्ञ प्रशिक्षकहरु स्नातकोत्तर क्याम्पसका सहप्राध्यापक कुलप्रसाद लिम्बू र उपप्राध्यापक रामचन्द्र अधिकारीले सहजिकरण गरे । उनीहरुले सर्पको चिनारी, क्रमविकास, स्वभाव र बासस्थान, विषालु सर्पको पहिचान गर्ने तरिका, सर्पदंशबाट बच्न अपनाउनुपर्ने सावधानीका उपायहरु र सर्पदंश भइहालेमा के गर्ने भन्ने विषयसूची अनुसार प्रशिक्षण दिएका थिए । साथै विभिन्न प्रजातिका विषालु तथा अविषालु जीवित सर्पहरु प्रदर्शनी गर्दै सर्पको आनीबानी,खानपानका बारेमा प्रेम विष्टले जानकारी दिए ।
१० दिने उक्त पेशागत विकास तालिमको आज समापन गरिएको छ । यस्तो विषय प्रस्तुत गरिँदा सहभागीहरुले खुशी तथा उत्साह व्यक्त गरे । सहभागीका तर्फबाट बोल्दै छथर तेह्रथुमका शिक्षक कुलबहादुर बस्नेतले भने–‘सामाजिक विषयका शिक्षकले अनेक विधाको ज्ञान लिनुपर्छ आज सर्पसम्बन्धी विल्कुल फरक ज्ञान पाइयो,भ्रमहरु हटाइयो,यसलाई विद्यार्थी र समाजमा प्रसार गरी लैजाने छौँ ।’
प्रशिक्षक कुलप्रसाद लिम्बूले शिक्षक र विद्यार्थीलाई सर्पबारे सिकाउन जरुरी भएको जोड दिँदै यस्ता सचेतनामूलक तालिम चलाउने जिम्मेवारी सरकारले लिनुपर्ने बताए । प्रदेश नं. १ का छ वटा शैक्षिक तालिम केन्द्रलाई हटाई प्रदेश सरकारले शिक्षा तालिम केन्द्र इनरुवालाई प्रदेश स्तरीय तालिम केन्द्रको रुपमा विकास गरेको छ । teacher training INRUWA (1)