यासोक /  पाँचथरको कुम्मायक गाउँपालिकामा लामो र छोटो दुरीका दर्जनौ सडक अवरुद्ध भएको छ । केही दिन देखिको वर्षादका कारण सडकहरु अवरुद्ध भएको हो । पहिरोका कारण तमोर कोरिडोर, उत्तरे यासोक लुमुघाट र स्थानीय सडक समेत अवरुद्ध भएका छन । जिल्लाको तुम्बेवा, मिक्लाजुङ, फाल्गुनन्द र कुम्मायक गाउँपालिकाका स्थानीयले तमोर कोरिडोरबाट तराइसम्म आवत जावत गर्दै आएका थिए ।
तर सडकको दर्जनौ स्थानमा पहिलो जाँदा सडक अवरुद्ध भएको स्थानीयले बताएका छन । धनकुटा, तेह्रथुम र पाँचथरका नागरिकले छोटो दुरिको तमोर कोरिडोर सडकको प्रयोग गर्दै आएका छन । सडक निर्माण हुदै आएको स्थानमा पहिरो र खोलामा पुल नहुदा यात्रा गर्न कठिन भएको सवारी चालक खगेन्द्र बिकले बताए ।
सामान्य पानी पर्दासमेत भीरबाट ढुङ्गा र पहिरो खस्छ । सडकको दर्जनौ स्थानमा पहिरो गएको छ । पहिरो नहटाएसम्म सवारी चलाउँन सकिदैन बिकले भने । मेची र कोशी राजमार्गलाई तराइसम्म छोटो दुरीमा जोड्ने सडक अवरुद्ध खुलाउँन एक साता लाग्ने उक्त सडकमा काम गर्दै आएको निर्माण कम्पनीले जनाएको छ ।
उत्तरे यासोक र राँके सडकको बिभिन्न स्थानमा पनि पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिकाको देउरालीमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । वर्षेनी वर्षाद हुदा पहिरो जाने उक्त सडकमा यो पटक पनि पहिरो गएको फाल्गुनन्द ६ का वडा अध्यक्ष नारायणप्रसाद आङदेम्बेले बताए । दुबै गाउँपालिकाको झापा जोड्ने सडकको देउराली भीरमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । तत्काल पहिरो हटाउँन केही दिन लाग्ने उनको भनाई छ । कुम्मायकको एक मात्र फिदिम यासोक सडक मात्रै संचालनमा छ । सोही सडको प्रयोग गर्दै स्थानीय तराइसम्म पुग्ने गरेको छन । घुमउँरो सडकका कारण स्थानीयले सास्ती भोग्दै आएका छन ।
स्थानीयतहले लाखौं रुपैया खर्च गरेर निर्माण गरेका सडक पहिरोका कारण अवरुद्ध भएको छ । वडा र गाउँपालिकाले लगानी गरेका सडकमा पहिरो गएर सडक अवरुद्ध भएपछि कार्यालयको आपतकालिन बैठक बसी सडक खुलाउँने विषयमा छलफल भइरहेको कम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । पहिरोले धेरै सडकमा क्षति पु¥याएको छ । स्थानीय सडक अवरुद्ध छन । तत्कालको लागि पहिरो पंच्छाएर सडक खुलाउँने तयारी भइरहेको चेम्जोङको भनाइ छ ।