विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश कार्यालय विराटनगरमा स्थापना भएको प्रदेश स्तरीय कृषि उद्यम केन्द्र संचालनमा आएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बिहीबार एक कार्यक्रमको बिच उक्त केन्द्रको उद्घाटन गरि संचालनमा आएको हो ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष राणाले नेपाल उद्योग वाणिज्य महासंघमा विगत २८ वर्षदेखि नेपाल सरकार संगको सहकार्यमा कृषि उद्यम केन्द्रले कृषि क्षेत्रमा काम गर्दै अगाडी बढेको जानकारी दिइन् ।

उनले देश संघीयतामा गईसकेपछि सोहि अनुरुप सातै प्रदेशमा यसको स्थापना गर्ने योजना अनुसार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ पहिलो भएको बताइन् । उनले कृषि तथा कृषिजन्य वस्तुहरुसंग सम्वन्धित सवै क्रियाकलापहरु केन्द्रबाट संचालन हुने बताइन् । ‘आपूर्ति, उत्पादन, प्रशोधन, पारवहन तथा बजार व्यवस्थापन आदि सम्पूर्ण यसको कार्यक्षेत्र रहेको छ,’ उनले भनिन्, ‘प्रदेशमा स्थापना भएको कृषि उद्यम केन्द्रको गतिविधिहरु निर्वाध रुपमा अगाडी बढनेछ ।’

सरकारले ल्याएको कर नीति तथा भेहिकल एण्ड कन्साइनमेन्ट ट्ेकिंग सिस्टमका विषयमा सम्वन्धित निकायहरुमा वार्ता भइरहेको जानकारी दिदै उनले एक दुई दिन भित्रै यसको समाधान हुने बताइन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खडकाले कृषि क्षेत्रमा व्यवसायीक उत्पादन, प्रशोधन, बजारीकरणका माध्यमबाट रोजगार, स्वरोजगारको संख्या वृद्धि गरी परनिर्भरताको अवस्थालाई आयात प्रतिस्पथापन गरिनुपर्नेमा जोड दिए । उनले ग्रामिण पर्यटन र कृषि व्यवसायलाई संगसंगै अघि बढाई स्थानीय स्तरमै आय आर्जन र रोजगारी सृजना गर्नेपर्ने बताए । उनले स्थानीय वस्तुको उत्पादन, प्रशोधन र बजार प्रवद्र्धन गर्ने पनि बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतले प्रदेश स्तरीय कृषि उद्यम केन्द्रले यस प्रदेशमा रहेका सवै उद्योग वाणिज्य संघहरु संग समन्वय गरी काम गर्दै अगाडी बढदने बताए । उनले प्रदेशमा रहेका कृषि व्यवसायका क्षेत्रहरु पहिचान गरी त्यसको विकासमा सघाउ पुर्याउने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, केन्द्रिय सदस्यहरु अविनाश बोहरा, प्रवलजंग पाण्डे, विभिन्न जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधि लगायतले बोलेका थिए ।