विराटनगर /  विराटनगरस्थित एक डेरी उद्योगको दूध क्यान चोरी गर्ने र खरिद गर्ने संचालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

१ सय २० लिटर दूध हटने चार वटा क्यान चोरी गरेको आरोपमा प्रहरीले विराटनगर –६ झरना चोकका २१ वर्षिय आकाश कुमार साह र चोरीको क्यान खरिद गर्ने सोविन्द्र विष्टलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

विराटनगर– ६ स्थित आशिष ईन्जिनियरिङ उद्योग कारखानाबाट साहले वैशाख २७ गते दूधबोक्ने क्यान चोरी गरेर सुवास दुध डेरी संचालक सोबिन्द्रलाई विक्री गरेका थिए । दूध बोक्ने क्यान चोरी भएको उजुरी प्रहरीलाई दिएपछि प्रहरीले चोरी गर्ने साह र खरिद गर्ने संचालक विष्टलार्ई पक्राउ गरेको मोरङ प्रहरीका डिएपी राजकुमार खिउंजुले जानकारी दिए । साहले १० हजार रूपैयाँमा क्यान विक्री गरेको बताइएको छ ।

साहले आशिष ईन्जिनियरिङ उद्योग कारखानाबाट प्लास्टिकको २० लिटरको क्यान २ थान र ४० लिटरको आल्मुनियमको क्यान २ थान गरी जम्मा ४ क्यान चोरी गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ गरेका व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।