बिर्तामोड/ मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७५/२०७६ मा लक्ष्यको ७८.७४ प्रतिशत राजश्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले दुई महिना अघि संशोधन गरेर दिएको लक्ष्यसमेत मेची भन्सारले पूरा गर्न नसकेको हो ।

आर्थिक वर्ष २०७५÷०७६ मा १२ अर्ब ८२ करोड ६१ लाख रुपैंयाँ राजस्व सङ्कलन गर्ने मेची भन्सारको लक्ष्य रहेको थियो । सो वर्षको ९ महिना मध्ये तोकिएको कुनै महिना पनि लक्ष्य बमोजिम राजस्व सङ्कलन नभएपछि त्यो संशोधन गरेर ११ अर्ब ८२ करोड ६१ लाख रुपैंयाँमा झारिएको मेची भन्सार प्रमुख टेकबहादुर अर्यालले जानकारी दिए । यद्यपि भन्सारले सो लक्ष्य समेत पूरा गर्न नसकेको तथ्याङ्क छ । सो अवधिमा भन्सारले १० अर्ब ९ करोड ९५ लाख ५७ हजार रुपैंयाँ सङ्कलन गर्न सफल भएको छ । पछिल्लो लक्ष्यको पनि ८५.४० प्रतिशतमात्र राजस्व सङ्कलन भएको पाइएको छ ।

भन्सार कार्यालयबाट नियमित आयात हुने कोइला, क्लिङ्कर र इन्धनको आयत घटेकाले राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको कार्यालयका प्रमुख अर्यालले बताए । गत वर्षको तुलनामा राजस्व बढी सङ्कलन भए पनि लक्ष्य पूरा भएको छैन । क्षमताभन्दा लक्ष्य उच्च भएकाले त्यो पूरा गर्न समस्या भएको अर्यालको भनाइ छ ।

आर्थिक वर्ष २०७४/७५ मा मेची भन्सार कार्यालयलाई ९ अर्ब २० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिइएको थियो । जसमा लक्ष्यभन्दा बढी १० अर्ब १८ करोड २७ लाख राजस्व सङ्कलन गरेको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यो लक्ष्यको १११ प्रतिशत हुन आउँछ । उक्त वर्ष आव २०७३/७४को तुलनामा ५६ प्रतिशतले राजस्व वृद्धि भएको थियो । संशोधन पछिको लक्ष्यलाई हेर्दा गत आवको तुलनामा १९.४९ प्रतिशत लक्ष्य वृद्धि गरेर मेची भन्सारलाई जिम्मेवारी दिइएकोे थियो ।

मेची भन्सार कार्यालयले सङ्कलन गरेको राजस्वमा कृषि सुधार शुल्क १३ करोड, ७ लाख ४९ हजार ५ सय ३६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कृषि आयकर ८ करोड, ७९ लाख, ९५ हजार ८ सय ६३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धि कर ४ अर्ब ६० करोड ४६ लाख ३२ हजार, ९ सय ८२ रुपैयाँ, अन्त शुल्क ३२ करोड ५८ लाख ५१ हजार ५ सय २९ रुपैयाँ, सडक विकास शुल्क २२ लाख ९७ हजार ३ सय २१ रुपैयाँ, सडक सुधार तथा संभार दस्तुर ३३ करोड ४१ लाख, २२ हजार रुपैयाँ, पूर्वाधार कर ६६ करोड ७४ लाख, ५५ हजार रुपैयाँ र स्वास्थ्य जोखिम कर १ लाख ९ हजार ८ सय ५० रुपैयाँ सङ्कलन गरेको हो ।

यता, भद्रपुर छोटी भन्सार कार्यालयको भने यस अवधिमा स्तरोन्नति भइसकेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टा मातहात रहेको भद्रपुर छोटी भन्सारलाई विभागले छुट्टै भन्सारको दर्जा दिएको हो । सरकारले भद्रपुर भन्सारलाई १५ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । भद्रपुर भन्सारले १९ करोड १८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको भद्रपुर भन्सार कार्यालयका प्रमुख फडिन्द्र खतिवडाले बताए । भद्रपुर भन्सारले लक्ष्य भन्दा २१.७९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । भद्रपुर भन्सार कार्यालयको लक्ष्य कम भएकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको देखिन्छ ।

लक्ष्य बमोजिम राजस्व सङ्कलन नभए पनि मेची भन्सारले विभागको स्थलगत तथा अनलाइन अनुगमनबाट प्राप्त निर्देशन तथा सुझावलाई कार्यान्वयन गरेको जनाएको छ । यसैगरी बजार मूल्यलाई आधार मानेर बरामद भएका सामग्रीको मूल्याङ्कन गर्ने काम यसै आर्थिक वर्षदेखि शुरु गरिएको मेची भन्सार कार्यालयका प्राविधिक किरण अर्यालले बताए । भन्सारले हालसम्म कै सबैभन्दा धेरै मूल्यकोे सामग्री लिलाम गरेको छ । मेची भन्सारमा एउटा मात्र सवारी साधन चालु रहेकाले नियमित गस्ती परिचालन गर्न नसक्दा पनि राजस्व सङ्कलनमा समस्या भएको भन्सार कार्यालयले जनाएको छ ।

यस वर्ष भारतबाट नेपालमा आयात हुँदै आएका कोइला, क्लिङ्कर र इन्धनको आयात घटेको कारण राजस्व सङ्कलन प्रभावित भएको बताइएको छ । भारतमा खानी बन्द हुँदा मेघालय र असामबाट नेपाल आयात हुने पत्थर कोइला, क्लिङ्कर र इन्धनको आयात घटेको हो । राजस्व सङ्कलनमा सबैभन्दा धेरै योगदान पुर्याउँदै आएका ती वस्तुको आयात ठप्प भएकाले लक्ष्य पूरा गर्न नसकिएको भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।