ताप्लेजुङ/ जिल्ला अदालत ताप्लेजुङले एक वर्षमा ४ सय ४७ वटा मुद्दा फैसला गरेको छ । यो विगत ४ आर्थिक वर्षयताकै धेरै हो । जिल्ला न्यायाधीश कृपासुर कार्कीले गत आर्थिक वर्षमा ४ सय ४७ थान मुद्दा फैसला गरेका हुन् ।

अदालतमा अब ३७ थान मात्रै मुद्दा रहेका छन् । बाँकी रहेकामा पनि ६ महिना नाघेका र १० महिना नपुगेका मुद्दा २ वटा मात्रै छन् । ७० प्रतिशत फछ्र्यौट गर्ने लक्ष्य राखेको अदालतले ९२.४ प्रतिशत फैसला गरेको हो । फैसला भएकामध्ये सबैभन्दा बढी १ सय १० वटा सम्बन्धविच्छेदका रहेको श्रेस्तेदार केदार गौतमले बताए ।

गत आर्थिक वर्षमा मात्र १ सय १७ वटा सम्बन्धविच्छेदका मुद्दा परेका थिए । जसमध्ये १९ वटा पुरुष वादी भएका मुद्दा रहेका छन् । सम्बन्धविच्छेदबाहेक अंश मुद्दाका ५०, लेनदेनका ४४, सरकारी कागज कीर्ते ३९, ज्यान मार्ने उद्योग ३२, करणी ३१, ज्यान १५, लागूऔषध ५, वन ४, जालसाज १३, पुनरावेदन ४, रिट १ र अन्य ९९ वटा मुद्दा फैसला भएका हुन् ।

अब ३७ वटा मात्र मुद्दा फैसला हुन बाँकी छ । असार महिनामा ३५ वटाको लक्ष्य राखिएकोमा १ सय ६५ वटा फैसला गरिएको छ । अदालतका अनुसार गत आर्थिक वर्षको शुरुवात साउन १ गते ४ सय ८४ वटा मुद्दा रहेका थिए ।

चार वर्षको तुलनामा सबैभन्दा बढी मुद्दा फछ्र्यौट
विगत चार आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ०७५/७६ मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट भएका छन् । आ.व. ०७२/७३ मा कुल ५ सय ७२ मुद्दामध्ये ४ सय १४ वटा फैसला भएका थिए भने आ.व. ०७३/७४ मा ४ सय ६० मध्ये ३ सय ११ वटा फैसला भएका थिए । यस्तै आ.व. ०७४÷७५ मा ४ सय मुद्दा परेकोमा ३ सय २२ फैसला भएको जिल्ला अदालतको तथ्याङ्कमा उल्लेख गरिएको छ ।