धरान/ दुईतिहाइको सरकारले न्यूनतम् दायित्व पूरा नगरेको नेपाली काङ्ग्रेस जिल्ला समिति सुनसरीले ठहर गरेको छ ।

दुईतिहाइको सरकार बनेपछि मुलुकमा थप बेथिति, अराजकता बढेको नेपाली काङ्ग्रेसले निष्कर्ष निकालेको छ । काङ्ग्रेस सुनसरीका सभापति राजीव कोइरालाको अध्यक्षतामा बिहीबार बसेको बैठकले बाढीपीडितको उद्धार तथा राहतमा ध्यान नदिएको जनाएको छ ।

प्राकृतिक बिपद्मा परेका प्रभावित क्षेत्रका जनताको राहत र उद्धारमा सरकारले तदरुकताका साथ भूमिका खेल्न नसकेको ठहर गरेको छ । उनीहरूको राहत, उद्धार, पुनस्र्थापना र स्वास्थ्यमा तत्काल गम्भीर हुन सुनसरी काङ्ग्रेस सरकारको ध्यानाकर्षण गराएको छ ।

साउन ३ र ४ गते सुनसरी र मोरङको बाढी प्रभावित क्षेत्रमा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले अवलोकन गर्ने कार्यक्रम रहेको जनाएको छ । दैनिक उपभोग्य वस्तुदेखि सबै क्षेत्रमा महँगी बढेको छ । हालै १३ प्रतिशत टेलिकम्युनेकशन सेवा शुल्क वृद्धि गरेर इन्टरनेट सेवालाई थप महँगो बनाएको काङ्ग्रेसले आरोप लगाएको छ ।

जनतालाई आवश्यक पर्ने वस्तु तथा सेवा सस्तो, गुणस्तरीय र सर्वसुलभ बनाउनु पर्नेमा अनावश्यक कर वृद्धि गरी झन्–झन् महँगो बनाउने सरकारी कार्यशैलीको सुनसरी काङ्ग्रेसले कडा विरोध गरेको छ ।

लोक सेवा आयोगको विज्ञापनमा पुनः संविधानको मर्म र भावना विपरीत आदिवासी जनजाति, दलित, मधेशी, मुसलमान, महिला, अपाङ्ग, अल्पसङ्ख्यक आदिको आरक्षण सुविधा कटौती गरेको जनाएको छ ।

सार्वभौम संसद्को राज्य व्यवस्था समितिले समेत संविधान विपरीत भएको भन्दै समानुपातिक समावेशी हुने गरी संशोधन गरेर पुनः प्रकाशित गर्न लोकसेवा आयोग र सरकारलाई निर्देशन दिए पनि सरकार र लोकसेवा आयोगले नटेरेको जनाएको छ ।

तत्काल असमावेशी विज्ञापन खारेज गरी पुनः समावेशी विज्ञापन प्रकाशित गर्न सुनसरी काङ्ग्रेसले सरकारसमक्ष जोडदार माग गरेको सचिव तथा प्रवक्ता सुजेन्द्र गोले तामाङले विज्ञप्तिमा उल्लेख गरेका छन् ।