इटहरी/ इटहरी उपमहानगरले पूर्ण अशक्त अपाङ्गता भएकाहरूलाई घरमै पुगेर परिचय–पत्र वितरण गरेको छ ।

उपमेयर लक्ष्मी गौतमसहितको टोलीले पाँचजना पूर्ण अशक्त अपाङ्गता भएकाहरूलाई घरमै पुगेर अपाङ्गता परिचय–पत्र उपलब्ध गराएको हो ।

इटहरी–६ का भरत बस्नेत, इटहरी–२० का सुमन दाहाल, इटहरी–१७ का पर्मेश चौधरी, इटहरी–२ का सकुन्तला चौधरी, इटहरी–८ का जयनारायण भगतको घरैमा पुगेर परिचय–पत्र वितरण गरिएको हो ।

पूर्ण अशक्त अपाङ्गता भएकाहरूलाई घरमै पुगेर परिचय–पत्र उपलब्ध गराउने कार्य जारी रहेको उपमेयर गौतमले जानकारी दिइन् । परिचय–पत्र पाएकहरूको परिवारजनले घरआँगनमै सरकार आइपुगेको महसुस भएको प्रतिक्रिया दिएका छन् । इटहरी उपमहानगरले गत वैशाखदेखि उपमहानगरबाटै अपाङ्गता परिचय–पत्र वितरण गर्न थालेको हो ।

अहिलेसम्ममा ४६ जनालाई रातो, ४२ जनालाई निलो, २१ जनालाई पहेँलो र २ जनालाई सेतो परिचय–पत्र वितरण गरिएको छ । प्रत्येक महिनाको दोस्रो बिहीबार अपाङ्गता परिचय–पत्र वितरण गर्ने गरिएको सामाजिक विकास महाशाखा प्रमुख भोजकला दवाडीले जानकारी जनाइन् ।

वैशाखअघि परिचय–पत्र बनाउन जिल्ला सदरमुकाम इनरुवा पुग्नु पथ्र्यो । उपमहानगरबाटै परिचय–पत्र वितरण गर्न थालिएपछि धेरै सहज भएको चेलीबेटी अपाङ्ग महिला सङ्घकी अध्यक्ष दिलकुमारी राईले बताइन् । रातो कार्ड पाउनेहरूले मासिक तीनहजार रुपैयाँ भत्ता पाउने व्यवस्था छ ।