मधुमल्ला/ मेला बजार भनेपछि सबै तिर बजारको आसपासमा छाप्रो, ब्यानर, तोरणले सजिएको हुन्छ । तर, दक्षिणी इलामको चुलाचुली गाउँपालिका–६ मा पर्ने दशमी बजारमा लाग्ने राँके मेलामा भने न कुनै सजिसजाउ न त कुनै तुल र ब्यानर तर बजार भर्नेको भने ठूलो भीडका साथ लाग्ने मेला हो राँके मेला ।

विगत वर्षमा भन्दा यस वर्ष राँके मेला भर्न आउनेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको स्थानीय अमिर राईले बताए । मन्द चिसो हावापानी अनि वरिपरिको हरियालीसँगै तराईका हरिया फाँटहरूको दृश्यावलोकन अनि तराईबाट गर्मीको चापलाई छल्दै चिसोमा मन भुलाउन जानेहरूको सङ्ख्या अधिक रहने गरेको चुलाचुली गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हेमन्त राईले बताए । उक्त स्थान समुद्री सतहबाट १ हजार ६ सय ३५ मिटर उचाइमा रहेको छ ।

दक्षिणी इलामको चुलाचुली गाउँपालिका –६ मा पर्ने दशमी बजारमा प्रत्येक वर्ष साउन २ गते ठूलो मेला लाग्ने गर्छ । साउन २ गतेबाहेक अन्य समयमा भने त्यस ठाउँमा कुनै मेला वा बजार लग्दैन ।

यो मेला कहिलेबाट र कसरी लाग्न थाल्यो भन्ने केही थाहा नभएको बताउँछन् चुलाचुली–६ का वडाध्यक्ष हेमन्त राई । आफू सानो छँदादेखि नै मेला लाग्ने गरेको र त्यस बेलादेखि नै मेला के कसरी लाग्न शुरु भयो भनेर आफूले खोजी गर्दा पत्ता लगाउन नसकेको राईले बताए ।

आफूले आफ्ना बाजे र स्थानीय बूढापाकाहरूसँग खोजी गर्दा समेत परापूर्वकालदेखि मेला लाग्दै आएको र त्यसले निरन्तरता पाइरहेको स्थानीयहरू बताउँछन् ।

राँके मेलाको मुख्य विशेषता भनेको बेँसी क्षेत्रबाट आँप, कटहर, आल्चालगायतका फलफूलहरू ल्याउने र लेकक्षेत्रबाट झेलेआलु, साग, अङ्गुर, स्याउलगायतका फलफूलहरू आउने र एक–आपसमा साटासाट तथा किनबेच गरी लाने–ल्याउने प्रचलन रहिआएको स्थानीय वृद्ध पदमप्रसाद राई बताउँछन् ।

समयको परिवर्तनसँगै पहिले–पहिले कुम्ले व्यापारीहरूले भरिभराउ हुने मेलामा समयको परिवर्तनसँगै नयाँ–नयाँ परिवर्तनहरू आएको पाइन्छ । फुसको छानाले छाएको छाप्राहरूमा लाग्ने व्यापारलाई केही आधुनिकीकरणले समय सापेक्ष अगाडि बढाएको छ । यस क्षेत्रको अर्को विशेषता भनेको केशरीको रक्सी हो ।

केशरी एक प्रकारको प्राकृतिक वनस्पति हो । उक्त वनस्पति दशमी क्षेत्रको खोला र खोल्सीहरूमा पाइन्छ । घरेलु निर्माणका साथै अग्र्यानिकसमेत हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि केशरीको रक्सी निक्कै लोकप्रिय बनेको छ ।

वर्षायाममा खेतीका दौरान थकित भएर बसेका स्थानीयले केशरीको रक्सी खाएर थकान भुलाउने जनविश्वास रहिआएको छ । राँके मेला भर्न इलाम, पाँचथर, धनकुटा, मोरङ र झापाबाट उल्लेख्य मात्रामा सहभागी हुने गरेको राँके मेला व्यवस्थापन समितिका अध्यक्ष महेश राईले बताए ।