विभिन्न अभिव्यक्तिका कारण विवादमा आएका इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी जति विवादित छन्, उति नै कामका कारण चर्चामा पनि छन् । पत्रकारलाई धम्की तथा महिलाहरुलाई सार्वजनिक कार्यक्रममा अपमान गरेको भनेर आलोचना खेपेका चौधरीले इटहरीमा पछिल्लो सयम एउटा अभियान शुरु गरेका छन् । त्यो अभियानप्रति भने सर्वत्र प्रशंसाको पात्र बनेका छन् । उनले सार्वजनिक जग्गा, पैनी, खोला, सडक अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काउन अभियान सञ्चालन गरेका छन् । त्यो अभियान उनले सडकमा परेको आफ्नै घरको पर्खाल भत्काएर शुरु गरेका छन् । यसले सकरात्मक सन्देश दिएको छ ।

खोला अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएका कारण इटहरी वर्षाको समयमा डुबानमा मात्र परेको छैन, इटहरीले २०७३ सालमा मानवीय क्षतिसमेत व्यहोर्नुपर्यो । मानवीय अतिक्रमणका कारण खोलाहरु खुम्चिँदो अवस्थामा पुगेपछि बर्खाको समयमा खोलाको पानी शहरी क्षेत्रमा प्रवेश गर्दा जनजीवन प्रभावित बन्दै आएको छ । यो वर्ष पनि इटहरीका स्थानीयबासी बाढीको चपेटामा परे । यहाँ केही नेतृत्वले बाढी आएको बेला केही गरे जस्तो गर्ने सार्वजनिक मञ्चमा खोला थुन्ने माफियाहरुलाई कारबाही गर्ने र सार्वजनिक जग्गामा संरचना बनाउनेलाई कारबाही गर्ने हौवा फिँजाए । तर, बेलुका उनीहरुकै जलपान कार्यक्रममा सरिक हुन पुग्ने प्रवृतिले गर्दा डुबान समस्या निरन्तर बल्झिरहेको छ ।

हुन त यो समस्या इटहरीको मात्र होइन । देश भर माफियाहरुले प्रभावमा पारेर सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गर्ने, खोलापैनीलाई छेकी प्लटिङ गरेर बेच्ने काम बढेको छ । पछिल्लो समय इटहरीका मेयरले जुन अभियान थालेका छन्, त्यो देशभरका स्थानीय तहका प्रमुखहरुलाई सिकाइ हुने किसिमले अभियान सफल पार्र्न जरुरी छ । उनले सञ्चालन गरेको ‘अभियान हात्तीको देखाउने दाँत’ नहोस् । अडान लिएर उनले जुन किसिमको उचाइ लिएका छन्, इटहरीमा भएका अतिक्रमण हटाएर उचाइ थप्ने काममा उनीबाट आम नागरिकले अपेक्षा गरेका छन् । उनको अभियान २–३ दिने देखाउने खालको हुनुहुँदैन । जाति, समुदाय, पार्टीभन्दा माथि उठेर सार्वजनिक थिचोमिचो विरुद्धको ‘डोजर अभियान’ले सार्थक रुप लिनुपर्दछ । यस कार्यलाई उनले सफल बनाउन सके भने उनको उचाइ थप बढ्नेमा दुई मत छैन।