लहान । सिरहाको गोलबजार नगरपालिकामा कार्यरत ओभरसियर उमा श्रेष्ठ घूस रकमसहित एक होटलबाट पक्राउ परेकी छन् ।

गोलबजार नगरपालिका–७ स्थित एक होटलमा घूस रकम लिँदै गर्दा रङ्गेहात पक्राउ परेकी हुन् । सोही ठाउँकी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले शुक्रबार साँझ ५० हजार घूस रकमसहित पक्राउ गरेको हो ।

स्थानीय अशोक साहको होटलबाट उपभोक्ता समितिसँग लिएको ५० हजार रुपैयाँसहित श्रेष्ठलाई पक्राउ गरिएको अख्तियार टोली प्रमुख डिएसपी मधुकुमार थापाले बताए । महोत्तरीको बर्दिवासस्थित अख्तियारको कार्यालयबाट डिएसपी थापाको नेतृत्वमा आएको ११ जनाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

गोलबजार नगरपालिका ९ को उपभोक्ता समितिका पदाधिकारीसँग लिएको रकमसहित पक्राउ गरिएपछि ओभरसियर श्रेष्ठलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा शुक्रबार साँझ ७ बजेसम्म घटनास्थल, बरामदी मुचुल्का उठाएर बर्दिबास लगिएको डिएसपी थापाले बताए ।