भोजपुर । ट्याम्के मैयुङ गाउँपालिका–२ छिनामखुका गणेश राईको अविरल वर्षापछिको पहिरोले घर र गोठ बगाउँदा विस्थापित भएका छन् । उनको कुखुरा फार्मसमेत पहिरोले बगाएपछि थप समस्यामा परेको छ । आफ्नो व्यावसायसमेत पहिरोले लगेपछि सानो कटेरामा जीवन बिताइरहेका उनले कुनै निकायबाट हालसम्म राहात नपाएको बताए । उनका अर्का छिमेकी देवान राईको पनि अवस्था उस्तै छ ।

घर पहिरोले लगेपछि उनको अवस्था पनि दयनीय बनेको छ । धेरै वर्षपछि अविरल वर्षाको कारण कहिले पहिरो नगएको ठाउँमा पनि पहिरो जाँदा धेरै विस्थापित भएको छिनामखुका दिपचन्द्र राईले बताए । विस्थापितहरूलाई सरकारले तत्काल राहत दिनुपर्ने उनको भनाइ छ । जिल्लामा पहिरोबाट विस्थापित भएकाहरू घरपरिवारहरू पाल तथा छिमेकीको घरमा दुःखले रात काट्न बाध्य छन् । भोजपुरमा पहिरोबाट १ सय घरपरिवार विस्थापित भएको विपत् व्यवस्थापन समितिले जनाएको छ ।

bjp-1

केही दिनअघिको लगातारको वर्षात्का कारण पहिरोले घर पूर्ण तथा आंशिक क्षति हुँदा ती परिवार विस्थापित भएको विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । विस्थापितमध्ये भोजपुर नगरपालिकामा १४ घरपरिवार, ट्याम्केमैयुङ्ग गाउँपालिकामा २६, पौवादुङ्मा गाउँपालिकामा २, आम्चोक गाउँपालिकामा ४४, रामप्रसादराई गाउँपालिकामा ९, अरुण गाउँपालिकामा १, हतुवागढी गाउँपालिकामा ३ र साल्पासिलिछो गाउँपालिकामा १ रहेका छन् । त्यस्तै जिल्लाका विभिन्न स्थानीय तहमा १६ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५८ घरमा आंशिक रूपमा क्षति पुगेको छ ।

पहिरोले घर पुरिंदा रामप्रसाद राई गाउँपालिकामा ४ जना र टेम्केमैयुङ्ग गाउँपालिकामा १ गरी जम्मा ५ जनाको ज्यान गएको छ । ३ जना घाइते छन् । प्रमुख जिल्ला अधिकारी खतिवडाले स्थानीय तहहरूलाई आ आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरी पठाउन पत्राचार गरिएको बताएका छन् । क्षतिको विवरण आउने क्रम अझै जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृतकका परिवारलाई प्रति मृतक १ लाख दिने नेपाल सरकारले घोषणा गरेको छ ।

घाइतेलाई राज्यले निःशुल्क औषधोपचारको व्यवस्था गरेको छ । त्यस्तै घर पूर्ण क्षति भएकालाई १० हजार र आंशिक क्षतिलाई ५ हजार राहत स्वरूप दिने प्रावधान छ । बाढी–पहिरोको जोखिममा परेर बस्नै नसक्ने अवस्था हुँदा अर्को घर बनाउनुपर्ने वाध्यता छ भने विशेष निर्णय गर्न सकिने कानुनी प्रावधान रहेको प्रजिअले बताएका छन् । 

bjp-2