विराटनगर । जिल्ला अदालत मोरङमा विभिन्न मुद्दामा फैसला भएका व्यक्तिहरूबाट ३ हजार १ सय ४८ वर्ष १० महिना ७ दिन कैद असुली हुन बाँकी रहेको देखिएको छ ।
५ हजार ७ सय ५ वर्ष ३ महिना २५ दिन लगत बाँकी देखिएकोमा यो वर्ष २ हजार ५ सय ५६ वर्ष ५ महिना १८ दिन असुल गरिएको जिल्ला अदालत मोरङले जनाएको छ । मोरङ अदालतमा जिम्मेवारी सरेर आएका दुई हजार ४ सय ७५ र नयाँ दर्ता भएका चार हजार १ सय ६ गरी, ६ हजार ५ सय ८१ मुद्दामध्ये चार हजार ५ सय ४८ मुद्दाको फैसला गरेको जानकारी दिइएको छ ।

चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएका मुद्दामध्ये १३ प्रतिशत मुद्दाको फैसलाका लागि आगामी आर्थिक वर्षमा जिम्मेवारी सरेका छन् । आगामी आर्थिक वर्षका लागि एक वर्षदेखि १८ महिनासम्मका २ सय ३५ र नयाँ दर्ता भई फछ्र्यौट हुन नसकेको ७ सय ६७ मुद्दाको जिम्मेवारी सरेको अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए ।

अदालतका श्रेस्तेदार ओझाका अनुसार अदालतले ८ सय १५ अंश, ८ सय ३५ सम्बन्धविच्छेद, २ सय ३५ माना–चामल, ५२ घरेलु हिंसा, २ सय १९ लागूऔषध, १ सय ३६ जबरजस्ती करणी, ५ मानव बेचबिखन र ४ सय ५९ बालबालिका संलग्न मुद्दाको फैसला गरेको छ ।

फैसला कार्यन्वयनतर्फ एकहजार ९० वटा निवेदन दर्ता भएकामध्ये ५ सय ६८ निवेदन फछ्र्यौट गरिएको श्रेस्तेदार ओझाले बताए । जरिवानातर्फ २१ करोड ९५ लाख ६४ हजार ३ सय ४५ असुल हुनुपर्नेमध्ये ७ करोड ९६ लाख ८७ हजार ३ सय ५८ रुपैयाँ असुल भएको छ । यसैगरी फैसला कार्यान्वयनतर्फ विशेष अभियानमार्फत् १ सय ८३ वर्ष कैद र १ करोड ५६ लाख ८ हजार ४ सय ३० जरिवाना असुल गरिएको छ ।