भण्टाबारी । हुलाकी राजमार्ग अन्तर्गत भोक्राहा नरसिंह गाउँपालिकामा निर्माण भईरहेको सडक हिलाम्मे भएको छ ।
एक हप्ताअघि परेको अविरल वर्षाका कारण सडक हिलाम्मे भएपछि स्थानीयहरू कष्टकर यात्रा गर्दै आएका छन् । भोक्राहा नरसिंह गाउँपालिकाको पुल चोकदेखि मोरङको रतुवा जोड्ने सडक हिलाम्मे बनेपछि कष्टकर यात्रा गर्दै आएको स्थानीय जाबुल मन्सुरीले जानकारी दिए ।

उनले भने वर्षाले हिलाम्मे बनेको बाटो हिँड्नमा सकिने अवस्था छैन, यात्रुहरूले गाडी धकेल्दै लैजानुपर्ने अवस्था छ । लगातारको वर्षापछि आएको बाढीले कच्ची सडकहरू ठाउँ ठाउँमा भत्किएका छन् बाँकी हिलाम्मे छन् उनले भने, –आवतजावत गर्न निकै मुश्किल छ । गन्तव्यसम्म पुग्न कहिले बिग्रिएको बाटो त कहिले गाडी धकेल्दै पुग्नुपर्ने बाध्यता रहेको भोक्राहा नरसिंह गाउँपालिका वार्ड ८ सोनयाहीका हारुन मियाँले बताए । ग्रामीण भेगका बाटो हिलाम्मे बनेपछि उपचार गराउन जाने बिरामीसमेत प्रभावित हुँदै आएको उनले बताए ।

‘राति केही भइहालेमा तत्काल एम्बुलेन्स जाने अवस्था छैन’– उनले थप्दै भने । तर सम्बन्धित निकाय मौन छ । कुनै चासो लिएको छैन, पटकपटक ध्यानाकर्षण गराए कुनै सुनुवाइ भएन । बाटो हिलाम्मे भएपछि किसानले उब्जाएको तरकारी बेच्न नपाएको उनले बताए ।

भोक्राहा नरसिंह गाउँपालिकाको पुलचोकदेखि मोरङको कोसलिया सडक खण्ड जोड्ने हुलाकी राजमार्गको ४० किलोमिटर बाटो निर्माणकार्य गुणस्तरहीन भएको स्थानीय पत्रकार दीपेन्द्र यादवले बताए । शर्मा, सूर्या र जेभी गरी ३ वटा निर्माण कम्पनीले १ अरब ३ करोड लागतमा निर्माण गरिरहेको उक्त सडक निर्माणमा कमसल सामाग्री प्रयोग भएपछि केही समय अगाडि जनप्रतिनिधि र स्थानीयले काम अवरुद्ध गरेको उनले बताए ।

भोक्राहा नरसिंह गाउँपालिका वार्ड ६ र ८ मा निर्माण गरिएको पुल गुणस्तरहीन सामाग्री प्रयोग गरी बनाएपछि स्थानीयले विरोध जनाएपछि भत्काइएको यादवले बताए । पछि अबदेखि गुणस्तरहीन सामाग्री प्रयोग नगर्ने प्रतिबद्धता जनाएर काम पुनः शुरु गरिए पनि ठेकेदारको मनोमानी यथावत् रहेको उनले बताए ।

निर्माण गर्ने जिम्मा पाएका ठेकेदारहरू लाई गुणस्तरीय सामाग्री प्रयोग गरेर काम गर्न ध्यानाकर्षण गराउँदै आएको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले बताए । गुणस्तरहीन काम भएको पाइएपछि जनप्रतिनिधि र स्थानीयहरूले केही समय अगाडि काम रोकेको बताउँदै यादवले अविरल वर्षापछि आएको बाढीले तत्काल काम रोकिएको बताए । सर्वसाधारणले काममा अवरोध नगर्ने तरिकाले गुणस्तरीय काम गर्न ठेकेदारलाई आफूले ताकेता गर्दै आएको अध्यक्ष यादवले बताए । यसबारेमा प्रतिक्रिया लिन ठेकेदारसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।