हङकङमा धेरै धरानेहरूले लामो समयदेखि बसोबास गर्दै आएका छन् । गोर्खा सैनिकको रूपमा सैन्यसेवा देखि, सुरक्षा गार्ड, विभिन्न क्षेत्रमा मजदुरदेखि, व्यापार व्यावसाय गर्दै आज पनि धेरै धरानेहरू हङकङमा रहँदै आएका छन् । यसरी धेरै धरानेहरू रेहेको हङकङमा धरान र त्यहाँ रहेका धरानेहरूको सामिप्यता र सहयोग बढाउन धरान हङकङ मञ्च स्थापना भएको छ । यो संस्थाको स्थापना कालदेखि नै धरान र हङकङमा रहेका धरानेहरूको सहयोग र सामिप्यता आजमात्रै हैन आउने पिँढीले पनि देख्नसक्ने ज्वलन्त उधाहरणहरू धरानमा प्रशस्त छन् । मञ्चको १० औँ अधिवेशन नजिकिँदै गएको छ । यस्तो अवस्थामा मञ्चका सचिव नारद राई अध्यक्षका प्रत्यासीका रूपमा आफूलाई अघि सारिरहेका छन् । यसै विषयमा सचिव राईसँग गरिएको कुराकानीको केही अंश : प्रस्तुति डम्बर कार्की

– धरान हङकङ मञ्चको स्थापना र यसले के कस्ता कार्यहरू गरि रहेको छ बताइ दिनुहोस् न ?
धरानबाट जब धरानेहरू हङकङमा बसोबास गर्न थाले तब त्यहाँ रहेका धरानेहरूलाई एकीकृत गर्दै सहयोग आदान प्रदान गर्नुका साथै आफ्नो गृहनगर धरानको विकाश निर्माणमा सहयोग गर्ने उद्देश्यले धरान हङकङ मञ्चको स्थापना भएको हो । हालैमात्र मञ्चले २० औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा धरानमा बसेर हङकङको नेतृत्व गरी समाजसेवा गर्नेहरूलाई हामीले सम्मान ग¥यौँ । यसको उद्देश्य भनेको धरानको विकासमा हातेमालो गर्नु हो त्यसले गर्दा सम्मान कार्यक्रमले अझ धरान र हङकङको सम्बन्ध राम्रो भएको छ ।

– धरानमा के कस्ता सहयोगहरू भएका छन् र आगामी दिनमा त्यो सहयोगले कस्तो निरन्तरता पाउनेछ ?
धरानको भानु चौकमा रहेको घण्टाघरले पनि मञ्चले धरानको विकास निर्माणमा गरेको सहयोगको बारेमा धरै कुरा बताउन सक्छ जस्तो लाग्छ । त्यस्ता धेरै उदाहरणहरू छन् धरानभित्र । भर्खरै धरानमा बन्दै गरेको सुविधा सम्पन्न बन्दीगृहको निर्माणका लागि आर्थिक सङ्कलनको काम भइरेको छ । १० औँ अधिवेशनपछि पनि यो कामलाई निरन्तरता दिँदै सङ्कलित रकम धरान पठाउनेछौँ ।

– अध्यक्षको दाबेदार हुनुहुन्छ के छ त भावी योजनाहरू ?
धरान हङकङ मञ्चमा अहिले सम्म सर्वसहमतिले नै कार्यसमितिको चयन हुँदै आएको छ । १० औँ अधिवेशनमा पनि सर्वसहमतिबाटै कार्यसमिति चयन हुन्छ र चयन भएको कार्य समितिको अध्यक्षमा म चुनिनेछु भन्नेमा विश्वस्त छु । अध्यक्षको रूपमा म चयन भइसकेपछि मेरो सबैभन्दा पहिलो काम भनेको हङकङमा रहेका धरानेहरूको समस्यालाई संस्थागत रूपमा सामधान गर्नु हुनेछ । धेरै धरानेहरू हङकङमा हुनुहुन्छ तर कति हुनुहुन्छ भन्ने यकिन छैन त्यसैले कति धराने हङ्कङमा छन् भन्ने डाटा राख्नेछु साथै माञ्चको आर्थिक वृद्धिका लागि योजनाहरू रहेका छन् । धरानको स्थानीय सरकारसँग सम्बन्ध विस्तार गरेर धरानको विकास निर्माणमा गरिने सहयोगलाई उचाइमा पु¥याउनेछु ।

– धरान उपमहानगरपालिकासँग समन्वय गरेर मञ्चले के कस्ता कार्य गर्न सक्छ ?
विगतमा हाम्रा अग्रजहरूले जसरी घण्टाघर निर्माण गरे, प्रस्तावित प्रादेशिक रङ्गशालाको मूलगेट निर्माण भएको छ, सुविधा सम्पन्न बन्दी गृह निर्माणको क्रममा छ । उपमहानगरपालिकासँग धरान हङकङ मञ्चको समन्वय भएको खण्डमा धेरै विकास प्रेमी धरानेहरू रहेको हङकङको यो मञ्चले धरानको निकास निर्माणमा राम्रो सहयोग गर्न सक्छ । धरानमा उपमानगरपालिका र मञ्चले यहा एउटा नमुना विकास देखाउन सक्छ । मैले पनि आगामी दिनमा धरानको पहिचान झल्काउने घण्टाघरजस्तै अर्कोकुनै कार्य गर्ने सोच बनाएको छु ।

– हङकङमा रहेका धरानेहरू के कस्तो काममा छन् र उनीहरूका कस्ता समस्या रहेका छन् ?
काम भनेको लामो समय गोर्खा सैनिकको रूपमा त्यहाँ नेपालीले सेवा दिएको हुनाले पनि सुरक्षा गार्डमा हङकङमा धरानेहरू विश्वसनीय छन् । त्यसका अलावा, विभिन्न क्षेत्रमा मजदुरदेखि आफै पनि होटल रेष्टुरेण्टलगायत अन्य व्यवसाय गरेर व्यवसायी बनेर पनि रहेका छन् । हङकङमा रहेका धरानेहरूको समस्या भनेको विशेष गरी युवाहरूमा दुव्र्यसनीमा फस्ने समस्या रहेको छ । यसका लागि मञ्चको तर्फबाट लागूऔषध विरुद्धमा काम गरिरहेका छौँ । आगामी दिनका लागि पनि लागूऔषध विरुद्ध कार्य गर्ने योजना बनाएर बृहत् रूपमा काम गर्ने सोच बनाएका छौं ।