महोत्तरी । बाढीबाट महोत्तरीमा ४ हजार ५७१ घरमा पूर्ण क्षति भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको तथ्याङ्कअनुसार बाढीबाट सात हजार ९६३ घरमा आंशिक तथा पाँच हजार ८४७ घरमा सामान्य क्षति पुगेको छ ।

जिल्लामा १५० हेक्टरमा लगाइएको धानखेती, २० हेक्टरको मकैखेती, ५० हेक्टरको तरकारीखेती र आठ हेक्टरमा लगाइएको अन्य खेती नष्ट भएको छ ।

पाँच करोड बराबरको धानखेती, कुखुरा र कुखुराजन्य उत्पादन, केरा, तरकारी, कुलो, इनार र च्याउखेती क्षति भएको छ । पन्ध्र हजार हेक्टरमा लगाइएको धानखेती डुबानमा परेको छ ।

बाढीबाट झण्डै पाँच हजार किसान प्रभावित भएका छन् । उनीहरुले ऋण मिनाहा, निःशुल्क बीउ, माछापोखरी निर्माणलगायतमा राहतका लागि सरकारसँग माग गरेका छन् ।

रातो, मरहा, विग्ही र जङ्घा नदीमा आएको बाढीले बलवा नगरपालिकाको लेऊरी, जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका र लोहारपट्टी नगरपालिकाका झण्डै ४० गाउँ डुबानमा परेका छन् । यसबाट करीब दुई लाख बसिन्दा प्रभावित भएका छन् ।

बाढीबाट प्रभावितलाई राहत वितरण गरिँदै आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।