विश्वको सुन्दर फूलबारीको बगैँचाका ज्ञपमा परिचित छ हाम्रो देश नेपाल । दुई ढुङ्गाको चेपको तरुल भने झैँ उत्तरतिर विशाल चीन र दक्षिणतिर भारतको बीचमा रहेको सुन्दर एवम् सुगन्धित फूलहरू फुल्ने बगैँचा हो हाम्रो देश नेपाल । देशमा लोकतान्त्रिक गणतन्त्र आएपश्चात् देशलाई सातवटा प्रदेशहरूमा विभाजन गरियो । तर हालसम्म पनि प्रदेशको न्वारन अथवा नामाकरण गर्ने सन्दर्भमा बाँकी नै रहेको भूभाग हो १ नं. प्रदेश । जस्तो नाम उस्तै काम भने झैँ वास्तवमै सबै कुराले भरिपूर्ण रहेको १ नं. प्रदेश स्वर्ग जस्तै सुन्दर छ । यस अर्थमा सुन्दर छ कि पश्चिममा लिखु खोला साक्षीका रूपमा सिमाना रहेको छ भने पूर्वमा मेची नदीले सिमानाको साथ दिइरहेको छ । उत्तरमा विशाल चीन रहेको छ भने दक्षिणमा सोही अनुरूप विशाल देश भारत रहेको छ । यी चार किल्लाको बीचमा रहेको हाम्रो १ नं. प्रदेश सात प्रदेशमध्ये सबैभन्दा सम्पन्न र धनी प्रदेशको रूपमा रहेको छ । यस अर्थमा सम्पन्न र धनी छ कि पश्चिमबाट यसको यात्रा एवम् बयान गर्न शुरु गरौँ।

प्रदेशको पश्चिम–उत्तरमा रहेको सोलुखुम्बु जिल्ला जहाँ विश्वको सबैभन्दा अग्लो सगरमाथा शिखर मोती झैँ टल्किने हिमालले बास गरेको छ । जहाँ विश्वका पर्यटकहरू यस हिमालको आरोहण गर्न आउने गर्छन् र स्वर्गकी अप्सरा झैँ सिँगारिएर मनोरम हिमशृङ्खलालेविश्वका पर्यटकहरूलाई स्वागत गरिरहेकी छन् । अनि त उक्त स्वागतलाई स्वीकार्दै देश–विदेशका पर्यटकहरू तँछाड मछाड गर्दै हिमालको चुचुरोलाई चुम्नका लागि होडबाजी गर्दै आउने गर्छन् ।

चुचुरो चुम्नका लागि धेरै देशी विदेशी पर्यटकहरूले यात्राको क्रममा आफ्नो अमूल्य जीवनसमेत गुमाउने गर्दछन् र विभिन्न देशका पर्यटकहरूको भ्रमणले यस प्रदेशलाई सबैभन्दा आम्दानीको स्रोत समेत बन्न पुगेको छ । यस जिल्लासँग नाता गाँस्दै रहेको छिमेकी जिल्ला हो ओखलढुङ्गा जहाँ युगकवि सिद्धिचरण श्रेष्ठ, व्याकुल माइला जस्ता महान् कवि, लेखक, साहित्यकार व्यक्तित्वको जन्म भयो । त्यही सुन्दर जिल्लामा रहेका सुन्दर नदी नाला, पहाड पर्वत र हरियालीलाई खुराकी बनाउँदै विभिन्न लेखक रचनाकारको सिर्जना गर्दै ओखलढुङ्गा जिल्लालाई इतिहास सामु चिनाउन सफल हुन पुग्यो । अर्का महान् व्यक्तिले जो नयाँ नेपालको राष्ट्रिय गानका रचनाकार व्याकुल माइला जस्ता व्यक्तिको जन्मभूमि पनि यही जिल्लामा पर्छ ।

ओखलढुङ्गा जिल्लाबाट अघि बढ्ने क्रममा त्यही पेरिफेरि भएर बग्ने तामाकोशी, सुनकोशी र छङछङ बज्ने दूध जस्तै सेतो दूधकोशी अनि भोटेकोशी बीचमा आएर मितेरी लगाई मिसिँदै वहन पुग्छन् । उक्त क्षेत्र पार गरिसकेपछि खोटाङ जिल्लाको आगमन शुरु हुन्छ जहाँ धार्मिकस्थल हलेसी महादेवको तपोभूमि रहेको छ । र यस मन्दिरको दर्शन गर्नका लागि लाखौं–लाख तीर्थयात्री भक्तजनहरूको घुइँचो नै लाग्ने गर्दछ र सोही हलेसी महादेवको बासस्थान रहेकाले खोटाङ जिल्ला परिचित हुन पुगेको छ । त्यसको ठीक दक्षिणतिर उदयपुर जिल्ला रहेको छ जो २ नं. प्रदेशसँग मित लगाउँदै एउटा असल छिमेकीको नाता गाँसेर रहेको छ ।

त्यसपछि उत्तरतर्फ लागौँ । त्यहाँ रमाइलो जिल्ला भोजपुरको आगमन हुन्छ । भोजपुर डाँडा पाखा हरियाली एवम् सुन्दरताले छाएको पहाडी जिल्ला हो जहाँ नाम चलेको ट्याम्के लेक धार्मिक स्थल दिङ्लामा महादेव एवम् विभिन्न मठ–मन्दिरहरू रहेका छन् । उक्त मन्दिरहरूमा कार्तिकको ठूली एकादशी र बालाचर्तुदशीमा विभिन्न ठाउँहरूबाट तीर्थालु भक्तजनको घुइँचो नै लाग्ने गर्छ । र सोही स्थानमा बालागुरु षडानन्दको जन्म भएको पाइन्छ । सोही अनुसार षडानन्द संस्कृत माध्यमिक विद्यालय आज पनि यही जिल्लामा रहेको छ र त्यसको फेदीबाट कलकल बग्ने अरुण बरुण नामका नदीहरूले जो सङ्खुवासभा जिल्ला छुट्याउने सिमानाको रूपमा अविरल बगिरहेका छन् ।

उक्त नदीहरू उत्तरको चीनबाट बग्दै भोजपुर, धनकुटा र सुनसरीको सङ्गमस्थल त्रिवेणीमा आई सातवटा नदीहरूको भेटघाट हुन्छ र आज तिनै सात नदीको नामबाट सप्तकोशी बन्न पुगेको छ । जो नेपालको सबैभन्दा ठूलो नदी हो । यही अरुण नदीबाट विकास निर्माणका क्रममा अरुण तेस्रो जलविद्युत् आयोजना सञ्चालन कार्य भइरहेको छ । अरुण नदी पूर्वमा रहेको सङ्खुवासभा जिल्ला पर्दछ ।

त्यसको फेदीमा रहेको अरुण उपत्यकाले परिचित तुम्लिङ्टार पर्दछ जहाँ हवाइ मार्गको विकास गरिएको छ । हवाइ विमानबाट यात्रा गर्नसमेत सुविधा बनेको छ र त्यहाँबाट पैदल करीब २ घण्टा उकालो चढेपछि सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजार आउँछ र सोही जिल्लामा नेपालका चर्चित लोकगायक स्वर्गीय खेम गुरुङ्ग, नवीन खड्का, पुस्तका खड्का, कमल खत्रीलगायत धेरै लोकप्रिय गायकहरूको उदय भएको र तिनले सङ्खुवासभा जिल्लालाई चिनाउन सफल भएका छन् । सोही जिल्लाको उत्तरतर्फ चीनसँग जोड्ने १ नं. प्रदेशको किमाथाङ्का नाका पर्दछ ।

त्यसकारण यस क्षेत्रका बासिन्दाहरू एक आपसमा बन्द व्यापार गरी जीविका आर्जन समेत गर्ने गर्दछन् । त्यस क्षेत्रका जडिबुटीहरू अहिले पनि तराईका विभिन्न भूभागहरू विशेष गरी झापा, मोरङ, सुनसरी जिल्लाहरूमा यत्र तत्र त्यहाँका शेर्पा जातिहरूले बिक्री गरी आफ्नो जीविका आर्जन गर्ने गर्दछन् । वास्तवमा सङ्खुवासभा जिल्ला मेरो जन्मभूमि समेत भएको हुँदा त्यहाँको प्रशंसा गरेर कहिल्यै सकिँदैन किनभने म सङ्खुवासभा जिल्ला माम्लिङ् गाउँमा जन्म भई त्यहाँका खोला नाला, डाँडा काँडा हरियाली अनि भञ्ज्याङ् र चौतारीहरूमा त्यहाँको वातावरणसँग पौँठेजोरी खेल्दै, रमाउँदै मेरो बाल्यकाल त्यही जिल्लामा बितेको थियो ।

त्यसैको जिल्लाको एक छिमेकी जिल्ला हो धनकुटा । उहिले राजा रजौटाहरूका पालामा पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चलको सदरमुकाम धनकुटामा नै थियो र अहिले पनि त्यतिबेलाका राजाहरूका दरबारहरू यदा कदा देख्न सकिन्छ । प्रदेशले मात्र होइन राष्ट्रले नै सम्मान गरेकी साहित्यकार झमक घिमिरेको जन्म पनि त्यही जिल्लामा भएको हो । झमकको कर्मले पनि धनकुटा जिल्लालाई चिनाउन ठूलो सफलता मिलेको छ ।

बीचमा रहेको तेह्रथुम जिल्ला त्यो पनि अब त सबै तौर तरिकाले सुगम जिल्लाको रूपमा रूपान्तरण भइसकेको छ । जहाँ धनकुटा, सङ्खुवासभा र तेह्रथुम जिल्लामा पर्ने वसन्तपुर, मिल्के तीनजुरे सङ्गमस्थलमा ३८प्रजातिका राष्ट्रिय फूल लालीगुराँस फुल्ने गर्दछन् ।

त्यसकारण त्यस क्षेत्रलाई नेपालको राष्ट्रिय फूल लालीगुराँसको राजधानी समेत भन्ने गरिन्छ । अब आयो मेची अञ्चलको उत्तरमा रहेको ताप्लेजुङ जिल्ला जहाँ कञ्चनजङ्घा हिमाल बेहुलीझैँ सिँगारिएर पर्यटकहरूलाई स्वागत गर्दै बसेकी छन् र त्यही जिल्लामा पवित्र धार्मिकस्थल पाथीभरा देवी माताले बास गरेकी छन् । तीर्थालु भक्तजनहरूलाई आगमनका लागि स्वागत गर्दै पर्खिबसेकी छन् । यति धेरै संरचनाहरूले चिनाउँछन् ताप्लेजुङ जिल्लालाई । अब आयो पाँचथर जिल्ला जो मेची अञ्चलको सबैभन्दा रमाइलो जिल्ला, प्राकृतिक सम्पदाले भरिभराऊ भएको जिल्लाका रूपमा परिचित छ ।

सोही जिल्लाका कलाकारहरूले गाएको गीत छ “पाँचथर रमाइलो” । यहाँ विभिन्न जातिका मानिसहरूको बसोबास रहेको छ । जहाँ जोरपोखरी, हाँसपोखरी जस्ता पर्यटकीय स्थलहरू पनि पर्दछन् । नभन्दै यात्रा गर्ने क्रममा इलाम जिल्ला पो आइपुगिएछ । इलाम जिल्ला प्राकृतिक सुन्दरताले भरिएको र निकै सुन्दर र रमाइलो पनि छ । उक्त जिल्लाको उत्पादनलाई पाँचवटा ‘अ’ ले चिनिन्छ । ती हुन् अलैंची, अदुवा, अम्लिसो, ओलन, अकबरे खुर्सानी ।

त्यहाँको रमाइलो चियाबारी अनि पहिलो घामको झुल्का देखिने ठाउँ श्रीअन्तु र उक्त क्षेत्रका ती प्रत्येक पहाडका डाँडाबाट दक्षिणतिर हेर्ने हो भने तराईका झापा, मोरङ, सुनसरी जिल्लाको रमणीय दृश्य देख्न सकिन्छ । जहाँ कार्तिक मङ्सीरतिर हेर्ने हो भने सुन झैं झुलेका धानका बालाहरू धपक्कै बलेको देख्न सकिन्छ । यी जिल्लाहरू भनेको देशकै सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्रको रूपमा पनि चिनिन्छन् र अब झरौँ तराईतिर ।

झापा जिल्लाको मेचीनगर–६ काँकरभिट्टा भारतको सिमानासँग जोडिएको मेची नदीको किनारमा रहेको नेपालकै पूर्वी द्वारका रूपमा चिनिन्छ । जहाँबाट दैनिक हजारौँ हजार विदेशी पर्यटकहरू भित्रिने गर्छन् र पूर्वी नेपालका विभिन्न पर्यटन हुँदै देशैभर पुग्दछन् । यस ठाउँमा देशका विभिन्न जिल्ला, क्षेत्रहरूबाट आएर स्थायी बसोबास गरी विभिन्न पेशामा आबद्ध रही दैनिक आफ्नो गुजारा गर्ने गर्दछन् ।

यसैगरी मोरङ जिल्लाको अहिलेको १ नं.प्रदेशको राजधानी रहेको विराटनगर त्यहाँ पनि भारतबाट प्रवेश गर्ने एउटा ठूलो नाका पर्दछ त्यो हो जोगवनी । त्रेतायुगमा विराट राजाले राज्य गरेको क्षेत्रको रूपमा पनि चिनिन्छ र सुनसरीलाई अलिकति हेरौँ । सुनसरीलाई धार्मिक पर्यटकीय स्थलको रूपमा हेर्न सकिन्छ । त्यहाँका मठ–मन्दिरहरु वराहक्षेत्र, कोका, दन्तकाली, बूढासुब्बा लगायतका धार्मिक मठमन्दिरहरू रहेका छन् । यो जिल्ला भौतिक दृष्टिले निकै सुविधासम्पन्न जिल्लाका रूपमा परिचित छ ।

त्यसकारण यस प्रदेशमा रहेका सबै संरचनालाई नियालेर हेर्दा र मूल्याङ्कन गर्दा सबै प्रदेशभन्दा यो प्रदेश सुविधासम्पन्न र धनी प्रदेशको रूपमा चिनिएको छ । सबैभन्दा धनी र सम्पन्न प्रदेशवासी हामी कति भाग्यमानी छौँ । यदि गरीब छौँ भने त्यो हो हाम्रो सोचाइ, लगनशीलता, मिहिनेत र हामीमा भएका गलत विचारहरू हुन् । लोकतान्त्रिक गणतन्त्र आएको चार बर्ष बितिसक्दा समेत पनि हामीले अमूल्य मतदान गरी पठाएका प्रदेश प्रतिनिधि सांसदहरूले आजसम्म पनि यस प्रदेशको न्वारन (नामाकरण) गरी सार्वजनिक गर्न सकेको छैनन् । किन ? किनभने त्यहाँ केही न केही स्वार्थ लुकेको हुनुपर्छ ।

होइन भने तीन सय जातजातिको बसोबास रहेको यस प्रदेशमा कुनै व्यक्ति र जाति विशेषको नाममा प्रदेशको नामाकरण हुनुहुँदैन । नामाकरण हुँदा सबै जात–जातिलाई मान्य हुने गरी हुनुपर्छ । जस्तै उदाहरणका लागि यस प्रदेशको नाम प्रदेशमा पचासी प्रतिशत जिल्लाहरूमा परिक्रमा गरी बगेर बनेको सातवटा कोशीहरू एकमुष्ट सप्तकोशी भएको हुँदा यसलाई सप्तकोशी प्रदेश नामाकरण गरी सप्तकोशी प्रदेश बनाउँदा कुनै कतै कहीँ कसैलाई अन्याय पर्छ जस्तो लाग्दैन ।

त्यसकारण पनि यस प्रदेशलाई सप्तकोशी बनाउनका लागि आम प्रदेशवासी जनताहरूले विश्वासका साथ अमूल्य मतदान गरी पठाएका हाम्रा नेतागणहरूलाई हार्दिक अनुरोध गर्दछु । त्यसैले यस प्रदेशमा रहने प्रदेशवासी प्रत्येक नेपालीदेखि नेतागणसम्मले स्वार्थभन्दा माथि उठेर काम गर्ने हो भने यही ५ वर्षमा विश्वको सबैभन्दा धनी एवम् सफल नागरिक बन्न सक्छौँ । होइन भने, हाम्रा पूर्खाहरूले गरेको उखान झैँ १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा हाले पनि निकाल्दा खेरि उस्ताको उस्तै हुनेछ । त्यसैले सबैले विचार गरौँ है । १ नं. प्रदेशबासी आम जनता हो, हाम्रो स्वर्गजस्तो प्रदेश बिगार्ने र सपार्ने हाम्रै काँधमा आएको छ ।
मेचीनगर–६ काँकरभिट्टा, झापा