धरान । सहकारीको करोडौ रकम सुनमा लगानी गरी लगानी डुबाएको भन्दै सहकारी पीडितले दिएको उजुरीको आधारमा सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक र लेखापाल पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानले ६५ जना पीडितले करिब ५ करोड ६८ लाख रुपैयाँ माग दाबीसहित उजुरी दिएपछि प्रबन्धक मोहन दर्नाल र लेखापाल कमलादेवी विकलाई पक्राउ गरेको हो । त्यसो त लेखापाल भैरहवा जाने क्रममा काठमाडौंको नाकढुंगामा गत साउन ११ गते नै पक्राउ परिसकेकी थिइन् । संस्थाका अध्यक्ष कृष्ण बिकले लगानी जोखिम बनाएर असार २३ गते नै बेपत्ता बनेका थिए ।

बेपत्ता बनेकै समयमा उनको नाममा घर असार २७ गते ढेड करोडमा बिक्री गरिएपछि थप संका गरिएको थियो । त्यसपछि सञ्चालक समितिकै उपाध्यक्ष विष्णुकुमारी श्रेष्ठसहित १२ जना सदस्यले धरान उपमहानगरमा निवेदन दिएका थिए । निवेदनको आधारमा धरान उपमहानगरको सहकारी विकास समितिले बनाएको छानबिन समितिले सल्लेरीको ऋण सापटीको रुपमा ६८ लाख रुपैया लगेको प्रतिवेदन बुझाएको थियो ।

इप्रका धरानमा ६५ जना पीडितले ५ करोड ६८ लाख ६५ हजार ३ सय २५ रुपैयाँ रकम ठगी गरेको भन्दै उजुरी दिएपछि प्रबन्धक र लेखापाललाई पक्राउ गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले बताए। प्रबन्धक अध्यक्षका छोरा हुन् भने लेखापाल नाताले साली भदैनी साली पर्छिन् । सहकारी ऐन २०७४ अनुसार घर परिवारभित्रैबाट सहकारीको मुख्य समितिमा बस्न नपाउने प्रावधान छ । अध्यक्ष विकले शिखर सगरमाथा सुनचाँदी पसलमा लगानी गरेका थिए ।