धरान । भारत मध्यप्रदेशको टिकमगढ जिल्लाका बाढीपीडितहरू आश्रय खोज्दै धरान आइपुगेका छन् ।
धरान–१५ स्थित महादेवचोकभन्दा केही मुन्तिर स–सना झुपडी हालेर बसेका छन् । बाढीका कारण घरबारविहीन हुनु परेकाले आश्रयका लागि नेपाल आइपुगेको पीडितहरूले प्रतिक्रिया दिएका छन् । १० परिवारका झण्डै ५० जनाको हाराहारीमा धरान आइपुगेका हुन् ।
उनीहरूले बाढी र सुख्खाका कारण बस्न सक्ने अवस्था नभएपछि आफूहरू आश्रयस्थलको खोजीमा नेपाल आइपुगेको बताए । पीडितमध्येका प्रिकाश आदिवासीले बाढीका कारण कतै पनि बस्न सक्ने अवस्था नभएपछि घरबार छाडेर हिँडेको बताए । ‘पेट के लिए आना पड्ता हे’ उनले भने, ‘बाढ और सुख्खा इलाका है खानेको कुछ मिल्ता नहीँ है ।’
उनका अनुसार कयौं दिनपछि आफूहरू सुनसरीको सीमाक्षेत्र हुँदै नेपाल आइपुगेका हौ । बिहार पनि डुबान रहेकाले त्यहाँ पनि बस्न सक्ने अवस्था नभएपछि नेपाल आइपुगेको आदिवासीले बताए । अर्का पीडित अमरसिंह दयालले पनि बाढीले सबैतिर डुबान भएकाले घरबार छाड्नु परेको बताए ।
उनले नेपालमा डुबान हुँदैन भन्ने सुनेका कारण नेपाल आइपुगेको बताए । स–साना बालबच्चा लिएर उनीहरू शुक्रबार साँझ मात्रै धरान आइपुगेका हुन् । प्लाष्टिकको छाना हालेर उनीहरूले रात काट्न लागेका छन् । ‘विहार मे भी बाढ पररहे हैँ, जमिन त नहीँ मिल रहे’ अमर सिंहले भने, ‘उचे इलाका नहीँ हे ।’ उनले भारत सरकारले आफूहरूलाई केही नदिएको आरोपसमेत लगाए । उनले नेपालमा पहाडी क्षेत्र भएकाले बाढी आउन नसक्ने भएकाले यतातिर आएको बताए ।
‘पहाड हे, काहे कि बाढ नहीँ आसक्ता हे, उसिकी लिए पहिली बार आए हेँ’–उनले भने । नेपाल सुरक्षित स्थान भएकाले आफूहरू यता आइपुगेको उनीहरूले प्रतिक्रिया दिएका छन् । तर, महादेवचोकबासीहरूले भने ‘नम्बरी जग्गा’ मा बसोबास गरेकाले केही समस्या हुन सक्ने बताए । अचानक आएर बसोबास गरेपछि स्थानीयहरू त्रसित बनेका छन् । नेपाली भाषासमेत नबुझ्ने उनीहरूले गलत काम गरिदेलान् कि भन्ने चिन्ता रहेको स्थानीयले बताए ।