पथरी । पर्यटकीय र धार्मिक हिसाबले पवित्रस्थल मानिएको ताप्लेजुङको सिदिङ्बा गाउँपालिका–१ स्थित तिम्बुङ पोखरीबाट शौचालय र मन्दिर हटाउन सङ्घीय लिम्बुवान मञ्च केन्द्रीय समितिलगायतले माग गरेको छ ।

बिहीबार पोखरीबाट शौचालयलगायत नवनिर्मित संरचना तत्काल नभत्काइए आन्दोलन थाल्ने मञ्चले चेतावनी दिँर्दै विज्ञप्ति जारी गरेको छ । मञ्चका केन्द्रीय महासचिव अशोक चेम्जोङ लिम्बूले सङ्गठनको तर्फबाट विज्ञप्ति जारी गर्दै निर्मित संरचना नहटाए कडा आन्दोलन शुरु गर्ने चेतावनी दिएका छन् ।

पोखरीलाई लिम्बू समुदायले माङ्गेना चोत्लुङ (आध्यात्मिक स्थल)को रूपमा लिँदै आएको विज्ञप्तिमा उल्लेख छ । पोखरीछेउमा केही पनि संरचना नबनाउने स्थानीयबासीको आन्तरिक सहमति थियो । बनाउनै परे डेढ किलोमिटरको दूरीमा मात्र पाटी–पौवा आदि निर्माण गर्ने त्यस क्षेत्रका सामाजिक र राजनीतिक व्यक्तिहरूबीच सहमति हुँदै आएको लिम्बुवान मञ्चको विज्ञप्तिमा उल्लेख छ ।

सोही सहमतिअनुसार स्थानीय देउबहादुर खुदाङ लिम्बूले केही वर्षअगाडि डेढ किलोमिटर टाढा पौवा निर्माण गरेको उल्लेख छ ।

केही महिनाअघि पर्यटन मन्त्रालयको ५० लाख बजेटमा पूर्व सहमतिविपरीत हुने गरी शौचालय र मन्दिर निर्माण भएपछि विभिन्न सङ्घ–सङ्गठनले उक्त संरचना भत्काउनु पर्ने माग गर्दै आएको हो । सिदिङ्बा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया र ताप्लेजुङ जिल्लाका सङ्घीय सांसद् (हाल पर्यटन मन्त्री) योगेश भट्टराईको प्रत्यक्ष निर्देशनमा पोखरीको शिरमा शौचालय र मन्दिर बनाइएको अशोक चेम्जोङ लिम्बूको भनाइ छ ।

समुदायको सांस्कृतिक पहिचान मेट्ने काम आजको लिम्बुवानी पुस्ताले टुलुटुलु हेरेर नबस्ने बरु अन्तिम क्षणसम्म सङ्घर्ष गर्ने चेतावनी दिइएको छ । पर्यटकीय क्षेत्रको कुमारित्व हरण हुने र लिम्बू समुदायको सांस्कृतिक क्षेत्र अतिक्रमण भएकोप्रति ध्यान दिन मानवधिकार आयोग, पर्यटन बोर्ड प्रदेश र सङ्घीय सरकारललाई विज्ञप्तिमार्फत् आग्रह गरेका छन् ।

यसैबीच किरात राई यायोक्खा केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले सुन्दर पोखरीमा भौतिक संरचना निर्माण गरेर पर्यटकीय क्षेत्रको कुमारित्व हरण गर्न नहुने भन्दै फेसबुक स्टाटसमार्फत् विरोध जनाएका छन् ।

एक वर्षअघि तेह्रथुमको मेन्छ्यायेम डाँडामा लिम्बू समुदायकै दुई धार्मिक पन्थीबीच विवाद हुँदा त्यहाँ निर्माण हँुदै आएको पक्की मन्दिर अर्को पक्षले भत्काइदिएको थियो । त्यहाँ किरात र युमा–थेवा मान्ने समूहबीच विवाद भएको थियो । तिम्बुङ पोखरीमा जस्तै त्यहाँ भौतिक संरचना निर्माण हुँदा मेन्छ्यायेम डाँडाको कुमारित्व हरण हुने एक पक्षको भनाइ थियो ।

पाँचथरको याङ्वरक गाउँपालिका र ताप्लेजुङको सिदिङ्बाको सङ्गमस्थलमा रहेको तिम्बुङ पोखरीलाई लिम्बूलगायत विभिन्न समुदायले पवित्र धार्मिकस्थलको रूपमा मान्दै आएका छन् । पोखरीको मिथक लिम्बू समुदायसँग जोडिँदै आएको छ ।