धरान/ सहकारीको करोडौं रकम सुनमा लगानी गरी बचतकर्ताको करोडौं रकम डुबाएर फरार रहेका सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विकलाई प्रतिनिधि सभा सदस्य मीन विश्वकर्माले संरक्षण गरेको आरोप लागेको छ ।

विक फरार भएलगत्तै असार २७ गते कृष्ण विकको घरजग्गा मीन विककी साली डम्बरकुमारी पौडेलको नाममा रातारात पास गरेपछि आफ्नो सम्पत्ति सुरक्षित गर्ने तर जनताको सम्पत्ति डुब्दासमेत मौन रहेको भन्दै बचतकर्ताहरूले कृष्णसँग सांसद् विश्वकर्माको साठगाँठ रहेको आरोप लगाएका छन् ।

बेपत्ता बनेकै समयमा कृष्ण विकको नाममा रहेको धरान–१५ बाँझगरामा रहेको कि.नं. ४६१३ र ४६१६ मा बनेको अढाई तले घर डम्बरकुमारी पौडेलेको नाममा असार २७ गते बिक्री गरिएको थियो भने २३ गते नै कृष्ण फरार भएका थिए । घर किन्ने सांसद् विककी साली डम्बरकुमारी र बेच्ने कृष्णको अनुपस्थितिमै वडा कार्यालयलाई समेत प्रभावमा पारेर किनबेच गरिएको पाइएको छ ।

मालपोत कार्यालय धरानमा ७० लाखको ज्यथा देखाइए पनि डेढ करोडमा बिक्री गरिएको बताइएको छ । पौडेल मीन विश्वकर्माकी साली भएको बताइएको छ । तर विश्वकर्माले भने आफन्त भएको बताए पनि आफूसँगको साइनो भने खुलाउन आवश्यक नभएको बताएका छन् ।

कृष्ण विक रातारात भागे पनि विश्वकर्माले कृष्णको नामको सम्पत्ति आफ्नो परिवारको नाममा ल्याउनु रहस्यमय भएको बचतकर्ता दीपक राईले बताए । उनले उक्त सहकारीमा ४ लाख १३ हजार ३ सय ११ रुपैयाँ बचत गरेका थिए । जनताको यत्रो पैसा डुबेको बेला सांसद् विकले हतार गरेर कृष्णको नामको सम्पत्ति नामसारी गर्नु रहस्यमय भएको राई बताउँछन् ।

‘वाणिज्य मन्त्रीसमेत भइसकेका सुनसरी १ कै सांसद्ले जनताको डुबेको रकम फिर्ता गर्न पहल गर्नु पर्नेमा उल्टै भएको सम्पत्तिसमेत आफ्नो नाममा ल्याउनुले अध्यक्षसँगको मिलेमतो रहेको आशङ्का छ’–राईले ब्लाष्टसँग भने ।

यस्तै अर्की बचतकर्ता दीपा कार्कीले सुनसरीकै सांसद् मीन विश्वकर्मालाई कृष्णले ठगी गरेको थाहा पाएर पनि बचतकर्तालाई नभनेर उसलाई प्रोत्साहन गरेको आरोप लगाइन् । कृष्णलाई काठमाडौंमा लुकाएर राखेको समेत उनले आरोप लगाइन् । ‘प्रहरीले पनि हामीले दिएको उजुरीको कारबाही गर्न ढिलाइ गरिरहेको छ । पहुँचको भरमा जनतालाई डुबाउन खोजिँदैछ’–दीपाले भनिन् ।

राजनीतिक दलका नेताहरूको आडमा उनले गैरकानूनी काम गरेको पाइएको छ । शिखर सगरमाथा सुन–चाँदी पसल मीन विश्वकर्मा आफैले उद्घाटनसमेत गरेको बचतकर्ताहरू बताउँछन् । कृष्ण विकसँगको हरेक गतिविधिहरूमा सांसद् विकसमेत जोडिएकाले आफूहरूलाई अध्यक्षको संरक्षण उनैले गरेको बचतकर्ताहरूले आरोप लगाउँदै आएका छन् ।

बचतकर्ताहरूलाई पर्खाएर गत २३ असारदेखि कृष्ण विक फरार भएका छन् । यता असार २४ गते उनका छोरा मोहनले बाबु कृष्ण हराएकाले खोजतलास गरिपाउँ भनेर इलाका प्रहरी कार्यालय धरानमा निवेदनसमेत दिएको पाइएको छ ।

आफ्नै छोरा मोहन विकलाई प्रबन्धक राखेर कृष्णले सल्लेरीको बचतको पैसा शिखर सगरमाथा सुन–चाँदी पसलमा लगानी गरेको पाइएको छ । पासबुकमा सहकारीको नाममा चढाउने तर पैसा चाहिँ सुन पसलमा जम्मा गर्ने गरेको पाइएको छ । सुन–चाँदी पसलमा बस्ने उनका माइला छोरा महेश दर्नाल पनि हाल फरार रहेका छन् ।

विक फरार भएलगत्तै सञ्चालक समितिकै उपाध्यक्ष विष्णुकुमारी श्रेष्ठसहित १२ जना सदस्यले धरान उपमहानगरमा छानबिन गर्न निवेदन दिएका थिए । निवेदनको आधारमा धरान उपमहानगरको सहकारी विकास समितिले चन्द्र सुवेदीको संयोजकत्वमा बनाएको छानबिन समितिले सल्लेरीको ऋण सापटीको रूपमा ६८ लाख रुपैयाँ लगेको प्रतिवेदन बुझाएको थियो । प्रबन्धक, अध्यक्ष र लेखापालको साँठगाँठमा सहकारीको पैसा सुन पसलमा जम्मा गरेको पाइएको छानबिन समितिका संयोजक चन्द्र सुवेदीले बताएका छन् ।

यता इलाका प्रहरी कार्यालय धरानमा ६५ जना बचतकर्ताहरूले सहकारीको रकम हिनामिना गर्नेलाई रकम असुलउपर गरी कारबाहीको माग गर्दै गत साउन १४ गते लिखित जाहेरी दर्ता गराएपछि आवश्यक अनुसन्धान शुरु गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले बताएका छन् ।

यता बचतकर्ताको आरोपको पूर्व वाणिज्य मन्त्रीसमेत रहेका सांसद् मीन विश्वकर्माले अस्वीकार गरेका छन् । आफूले जेठ ९ गते नै घरजग्गाको बैना गरेर मेरो मान्छेले असारमा पास गरेको बताए । ५३ लाख बैना दिएर असारमा पास १ करोड ५३ लाखमा घर किनेको उनल े स्वीकार गरे । घर लेनदेन अहिलेको कुरा नभएको उनले बताए ।

जग्गा लिने व्यक्तिसँगको सांसद् विश्वकर्माले नाता खुलाउन चाहेनन् । बचतकर्ताले लगाएको आरोप गलत भएको बताउँदै कृष्णलाई खोजी गर्न आफूले डिएसपी न्यौपानेलाई लोकेसनसमेत दिएको तर बेवास्ता गरेको उल्टो आरोप लगाए । ‘फेसबुकमा अनलाइन देखेर काठमाडौंको प्रहरीसँग सहकार्य गरेर भैरहवामा भएको भन्ने जानकारी डिएसपीलाई जानकारी दिएको तर उनी अरूलाई पक्राउ गरेर अलमल गरिरहेका छन्’–सांसद् विश्वकर्माले भने ।