बिर्तामाेड । झापा जिल्ला ट्राफिक प्रहरीको भवन निर्माणको चर्चा अलपत्र परेको छ । प्रतिबद्धता बमोजिम बिर्तामोड नगरपालिकाले जिल्ला जमिन उपलब्ध गराउन नसकेपछि ६ महिना अघि शिलान्याससमेत भएको ट्राफिक भवन शुरु नभएको हो ।

बिर्तामोडको मुक्तिचोकमा रहेको ट्राफिक प्रहरीको जिल्ला कार्यालय भवन पायक पर्ने स्थानमा निर्माण गर्नका लागि बिर्तामोड नगरपालिका ३ मा रहेको खाली जमिन उपलब्ध गराउने बिर्तामोड नगरपालिकाले निर्णय गरेको थियो । तर, जग्गाको स्वामित्व कसको नाममा छ भन्ने पत्ता नलगाई गरिएको निर्णयले बिर्तामोड नगर प्रमुखको कार्यक्षमतामाथि प्रश्न उठेको छ ।

तत्कालिन ‘साझाको कार्यालय’ रहेको ८ कठ्ठा जमिनमध्ये केही जमिनमा सुविधासम्पन्न ३ तले भवन निर्माण गर्न भन्दै नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले २०७५ फागुन ३० गते भवनको शिलान्यास समेत गरेका थिए ।