भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गांधीले अनुच्छेद ३७० (जम्मूकश्मीर विभाजन) माथि केन्द्र सरकारको निर्णयको आलोचना गर्दै यसलाई सत्ताको दुरुपयोग भएको बताएका छन् ।
राहुल गांधीले निर्णय भएको एकदिनपछि ट्वीट गर्दै भनेका छन्, ‘राष्ट्रिय एकताको विस्तार जम्मूकश्मीरको एकतर्फी विभाजन गर्नाले हुँदैन, निर्वाचित प्रतिनिधिलाई जेलमा बन्द गर्नु संविधानको उल्लङ्घन हो, यो राष्ट्रको निर्माण यहाँका स्थानीयबाट भएको हो न कि धर्तीको विभाजनबाट, यो कार्यकारी शक्तिको दुरुपयोग हो र यो हाम्रो राष्ट्रिय सुरक्षाका लागि चिन्ताजनक विषय हो ।’
राहुल गांधीको प्रतिक्रिया आउनुअघि अनुच्छेद ३७० को मामिलामा कांग्रेस नेताबीच मतभेदको खबर आएको बीबीसीले उल्लेख गरेको छ ।
कांग्रेसका तर्फबाट राज्यसभामा गुलाम नबी आजाद र पी चिदंबरमले जोडदार विरोध गरेका थिए । तर, राहुल गांधी र प्रियंका गांधीका तर्फबाट कुनै टिप्पणी नआएका कारण कांग्रेसको आधिकारिक लाइनबारे स्पष्ट हुन सकिएको थिएन ।
तर, कांग्रेसको केही नेताले खुलेर अनुच्छेद ३७० माथि बिजेपीलाई साथ दिएको देखिएको छ ।
कांग्रेसको गतिबाट रुष्ट पार्टीका चिफ ह्वीप भुवनेश्वर कलिताले सोमबार राज्यसभा र पार्टीबाट राजीनामा दिएका छन् । कलिता असमका वरिष्ठ कांग्रेस नेता थिए ।
उनले पार्टीबाट राजीनामा दिएपछि भने, ‘कांग्रेसले मसँग कश्मीर मुद्दामा ह्वीप जारी गर्न भनेका थिए, तर देशको अवस्था पार्टीको गतिभन्दा फरक छ, मलाई लाग्छ कांग्रेस अपहत्ते गर्न मरिहत्ते गर्दैछ, म यसको अंश बन्न चाहन्न, म कुनै ह्वीपको पालना गर्न चाहन्न थें यसैले राजीनामा दिएको हुँ । कांग्रेस नेतृत्व आफैंलाई आफूसँगै समाप्त गर्न लागिपरेको छ, मलाई लाग्छ कांग्रेसलाई सिद्धिनबाट कसैले बचाउन सक्तैन ।’
कांग्रेसका सिनियर नेता जनार्दन द्विवेदीले पनि बीजेपीको अनुच्छेद ३७० माथि समर्थन गरे । द्विवेदीले समाचार एजेन्सी एएनआई सँग भने - अनुच्छेद ३७० इतिहासको एक त्रुटि थियो, जसलाई सुधार गरिएको छ ।
– एजेन्सी
Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved